नवलपुरको गैंडाकोटमा विद्युत् लाइन मर्मतका क्रममा पोलमा चढेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ज्यान गुमाउने व्यक्ति जाजरकोटको भेरी नगरपालिकाका ३३ वर्षीय आर्यनसिंह ठकुरी हुन्। उनी गैंडाकोट नगरपालिका–५ कालिकाचोकमा पुरानो पोलबाट नयाँ पोलमा विद्युत् लाइन स्थानान्तरण गर्ने काममा संलग्न थिए।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ६ः२० बजे लाइन सार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो। करेन्ट लागेपछि उनी पोलमै अचेत अवस्थामा झुण्डिएका थिए। घटनापछि प्रहरी र स्थानीयको सहयोगमा उनको शव पोलबाट तल उतारिएको थियो।
स्थानीयबासीको दाबी अनुसार नेपाल विद्युत् प्राधिकरणले मर्मत कार्य भइरहेका बेला अचानक लाइन छोड्दा ठकुरीलाई करेन्ट लागेको हो। यद्यपि, यसको आधिकारिक पुष्टि भने भइसकेको छैन। प्रहरीका अनुसार घटनाको विस्तृत अनुसन्धान जारी छ।