काठमाडौं, फागुन ५ – हाल देशभर पश्चिमी वायू र पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेका छन्।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रही मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य ठाउँमा आंशिक बदली रहँदै मौसम मुख्यतः सफा रहनेछ। यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
विशेष गरी बिहान तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने सम्भावना छ। त्यसैले सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ।
आज सूर्योदय बिहान ६:३९ मा हुनेछ भने सूर्यास्त साँझ ५:५६ मा हुनेछ।