काठमाडौं – भारतको ओडिसामा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थितिलाई गम्भीरतापूर्वक लिँदै नेपाल सरकारले भारतीय पक्षसँग कूटनीतिक पहल अघि बढाउने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा घटनाबारे विस्तृत छलफल भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार घटनाप्रति संवेदनशील रहेको बताउँदै भारतसँग समन्वय गरेर समस्या समाधान गर्न पहल भइरहेको जानकारी गराए। परराष्ट्रमन्त्री आरजु राणा देउवाले दिल्लीस्थित नेपाली दूतावासमार्फत दुई सदस्यीय टोलीलाई ओडिसा पठाइएको जानकारी दिइन्। साथै, ओडिसा सरकारले पनि छानबिन समिति गठन गरेको उल्लेख गर्दै अनुसन्धानको निष्कर्षपछि थप कदम चालिने बताइन्।
लम्साल आइतबार ओडिसाको भुवनेश्वरस्थित केआईआईटी कलेजको होस्टेलमा मृत फेला परेकी थिइन्। उनको मृत्यु शंकास्पद भएकाले नेपाली विद्यार्थीले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए। तर, कलेज प्रशासनले प्रदर्शन दबाउन खोज्दा स्थिति तनावपूर्ण बनेको थियो। केही विद्यार्थीमाथि कुटपिट गरिएको र कलेजबाट निकालिएको आरोपसमेत छ।
नेपाल सरकारको पहलपछि कलेज प्रशासनले नेपाली विद्यार्थीलाई फर्कन अनुरोध गर्दै माफी मागेको छ। घटनासँग सम्बन्धित दुई सुरक्षागार्डलाई भारतीय प्रहरीले पक्राउ गरिसकेको छ भने केही कलेज कर्मचारीलाई बर्खास्त गरिएको छ।
यसैबीच, शिक्षा मन्त्रालयले प्रभावित विद्यार्थी र अभिभावकका लागि आकस्मिक सहायता कक्ष स्थापना गरेको जनाएको छ। नेपाली विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक प्रयास जारी राखिने नेपाल सरकारको भनाइ छ।