काठमाडौं – अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड) को सहयोग रोकिँदा नेपालमा सञ्चालन हुँदै आएको शिक्षासम्बन्धी कार्यक्रम प्रभावित भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, यूएसएडले वार्षिक रूपमा १७ मिलियन अमेरिकी डलर (झन्डै २ अर्ब ३६ करोड नेपाली रुपैयाँ) सहयोग गर्दै आएको थियो, जुन तत्कालका लागि होल्डमा परेको छ।
यूएसएडको सहयोग शिक्षा मन्त्रालयअन्तर्गतको ‘स्कुल एजुकेसन सेक्टर प्लान’ (एसईएसपी) कार्यक्रममार्फत परिचालन हुँदै आएको थियो। एसईएसपीमा विभिन्न दातृ संस्थाहरूको रकम एउटै कोषमा राखेर शिक्षा सुधारका कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ। यूएसएडको योगदान रोकिँदा मन्त्रालयले अगाडि बढाइसकेको योजनामा वित्तीय चुनौती उत्पन्न हुने देखिएको छ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार, यो सहयोग स्थायी रूपमा बन्द गरिएको नभई अस्थायी रूपमा रोकिएको छ। उनले भने, ‘यूएसएडको सहयोग पनि अन्य दातृ संस्थाहरूको रकमसँगै साझा कोषमा राखेर परिचालन गरिँदै आएको छ। अहिले अमेरिकी सहयोग होल्डमा परेपछि बजेट संरचनामा असर पर्ने भएको छ। तर, हामी सकारात्मक निर्णयको प्रतीक्षामा छौं।’
सहयोग रोकिँदा विद्यालय स्तरीय सुधार कार्यक्रम, शिक्षक प्रशिक्षण, भौतिक पूर्वाधार निर्माण तथा शिक्षामा प्रविधिको प्रवर्द्धन जस्ता योजनाहरू प्रभावित हुने देखिएको छ। शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमार्फत अमेरिकी पक्षसँग निरन्तर छलफल गरिरहेको र सकारात्मक निर्णयको आशा गरिएको प्रवक्ता सापकोटाले जनाए।
नेपालको शिक्षामा अन्तर्राष्ट्रिय सहयोग महत्वपूर्ण भूमिका खेलेको छ। यसरी सहयोग रोकिँदा शिक्षा क्षेत्रका केही परियोजनाहरू प्रभावित भए पनि स्थायी असर नपरोस् भन्ने सरकारको प्रयास रहनेछ। यूएसएडको सहयोग पुनः सुचारु गर्न नेपाल सरकार र अमेरिकी पक्षबीच थप संवाद आवश्यक देखिएको छ।