नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबुलकारलाई लिएर उत्पन्न विवादबारे संसदमा ध्यानाकर्षण गराएका छन्। उनले कानुनी प्रक्रियाअनुसार निजी क्षेत्रलाई अनुमति दिइएको स्मरण गराउँदै विकास निर्माणका परियोजनालाई अनावश्यक विवादमा नतान्न आग्रह गरे।
सांसद भट्टराईले पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै विरोधको अधिकार सबैलाई भए पनि त्यसका सीमा र तरिका सभ्य हुनुपर्ने बताए। “विकास विरोधी कोही छैन, तर धर्म-संस्कृतिलाई राजनीतिसँग जोड्दा अनावश्यक विवाद उत्पन्न हुन्छ,” उनले भने।
ताप्लेजुङमा केबुलकारविरोधी समूहद्वारा आयोजित प्रदर्शनका कारण अशान्ति सिर्जना भएको भन्दै उनले सुरक्षाकर्मीको संयमताका कारण थप क्षति हुनबाट जोगिएको उल्लेख गरे। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले संघीयता, सहअस्तित्व र समन्वयको आधारमा अघि बढ्नुपर्ने उनको धारणा थियो।