नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपराह्न ४ बजे शीर्ष नेताहरूको बैठक बोलाएका छन्। बैठक देउवा निवास बुढानीलकण्ठमा बस्नेछ।
पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई आमन्त्रित गरिएको बैठकमा संसदमा पेश भएका विधेयकहरूलाई छिटो प्रक्रियामा लैजाने विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।
यसबाहेक कांग्रेसका भ्रातृ संस्थाहरूको अधिवेशनसम्बन्धी विषय पनि छलफलको एजेन्डामा रहेको छ। कांग्रेसले सबै तदर्थ समितिहरूलाई चैत महिनाभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन दिइसकेको छ।
बैठकमा संसदमा लम्बित विधेयकहरूको शीघ्र टुंगो लगाउन कांग्रेसले अपनाउने रणनीति, पार्टीको सांगठनिक सुदृढीकरण, र सरकारद्वारा सिफारिस गरिएका अध्यादेशहरूको प्रक्रियाबारे समेत छलफल हुने जनाइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेश हालसम्म संसदको प्रक्रिया अघि नबढेकाले ती विषयलाई कसरी अघि बढाउने भन्नेबारे बैठकमा विशेष छलफल हुने बताइएको छ।