रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत इन्स्पेक्टर रामकुमार महतोमाथि संगठनलाई बदनाम गराउने गतिविधिमा संलग्न भएको आरोप लागेपछि विभागीय छानबिन प्रक्रिया अघि बढाइएको छ।प्रहरी स्रोतका अनुसार, इन्स्पेक्टर महतोले मुद्दा फाँटको जिम्मेवारी नपाएपछि कार्यालयलाई बदनाम गराउने विभिन्न प्रयासहरू गरेको खुलासा भएको छ। उनले विभिन्न राजनीतिक व्यक्तित्वहरू र सञ्चारकर्मीहरूलाई आफ्नो पक्षमा ल्याएर दबाब सिर्जना गर्ने प्रयास गरेका थिए। तर, जिल्लाका सञ्चारकर्मीहरूले महतोको अनुरोधलाई अस्वीकार गर्दै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेलाई जानकारी गराएपछि उनको योजनाबारे खुलासा भएको बताइन्छ।कारबाही प्रक्रिया अघि बढ्दै इन्स्पेक्टर महतो हाल उजुरी शाखा, मिटरव्याज शाखा, र महिला तथा बालबालिका सेवा केन्द्रको प्रमुखका रूपमा कार्यरत थिए। तर, पछिल्ला घटनाक्रमपछि उनलाई ती सबै जिम्मेवारीबाट मुक्त गरिएको जिल्ला प्रहरी कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन्।रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेका अनुसार, महतोमाथि लागेको आरोप प्रमाणित भएमा संगठनको नियमअनुसार कडा विभागीय कारबाही गरिनेछ। मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रमुख डिआइजी लालमणि आचार्यले घटनाबारे औपचारिक जानकारी नभएको बताउँदै वास्तविकता बुझेर आवश्यक कदम चाल्ने प्रतिक्रिया दिएका छन्।महतोमाथि लागेको आरोपबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले उनीसँग आरोपबारे प्रतिक्रिया लिन खोजे पनि उनले बोल्न अस्वीकार गरेका छन्।यस घटनाले प्रहरी संगठनभित्रको आन्तरिक व्यवस्थापन र जिम्मेवारी बाँडफाँडमा देखिने असन्तुष्टि सार्वजनिक गरेको देखिन्छ। अनुसन्धानको निष्कर्षपछि महतोमाथि कस्तो कारबाही हुन्छ भन्नेबारे चासो बढेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत इन्स्पेक्टर रामकुमार महतोमाथि विभागीय छानबिन सुरु
