जनकपुरस्थित मधेश भवनभित्र रहेको आवास कक्षमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। मृतक मधेश शहीद प्रतिष्ठानका सदस्य नरेश यादव रहेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार यादव आज बिहान करिब ७ बजे आफ्नै ओछ्यानमा अचेत अवस्थामा भेटिएका थिए। प्रारम्भिक अनुसन्धानका क्रममा उनले वान्ता गरेको देखिएको छ, तर मृत्युको कारण अझै स्पष्ट भइसकेको छैन।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने पोस्टमार्टम रिपोर्टपछि मृत्युको वास्तविक कारण खुल्ने जनाइएको छ।