काठमाडौं – उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाललाई निर्धारित समयभन्दा अगाडि नै ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्ने दाबी गरेका छन्।
बुधबार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारको प्रतिबद्धता स्पष्ट पारे।
“अहिले हामी सघन निगरानीमा छौं, जसलाई ग्रे लिस्ट भनिन्छ। सरकार प्रतिबद्ध छ, निर्धारित समयमा आवश्यक सुधारहरू पूरा गरेर नेपाललाई ग्रे लिस्टबाट मुक्त गर्नेछौं,” अर्थमन्त्री पौडेलले भने।
उनले नेपाल ग्रे लिस्टमा पर्नु पछाडि वर्तमान सरकारको भूमिका नरहेको दाबी गर्दै आवश्यक विवरण सदनमा प्रस्तुत गर्ने बताए। “यस सरकारका कारण मुलुक ग्रे लिस्टमा परेको होइन। यसको यथार्थ सदनमा ह्वाइट पेपरमार्फत सार्वजनिक गर्नेछु,” उनले भने।
नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न दुई वर्षको समय प्रदान गरिएको भए पनि सरकारले सो अवधि अगावै सुधारका उपायहरू पूरा गर्ने दाबी उनको छ। “हामीलाई सुधारका लागि दुई वर्षको समय दिइएको छ, तर नेपाललाई त्यसअघि नै ग्रे लिस्टबाट बाहिर निकाल्छौं,” उनले जोड दिए।
सरकारले वित्तीय पारदर्शिता, बैंकिङ प्रणाली सुधार र अन्तर्राष्ट्रिय मान्यताका आवश्यक मापदण्डहरू पूरा गर्दै मुलुकलाई ग्रे लिस्टमुक्त बनाउने रणनीति लिएको छ।