अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्दी रिहा गर्न चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै उनले हमासले सबै बन्दीहरूलाई तुरुन्तै रिहा नगरे ‘कल्पनै नगरेको कठिन परिस्थिति’ सामना गर्नुपर्ने बताएका छन्।
ट्रम्पका अनुसार उनले इजरायललाई आवश्यक सबै सहयोग प्रदान गरिसकेका छन्। उनले भने, ‘यदि बन्दीहरू रिहा भएनन् भने हमासको कुनै पनि सदस्य बाँकी रहने छैन।’
यो चेतावनी अमेरिकी अधिकारीहरू र हमासबीच सम्भावित वार्ताको चर्चा चलिरहेका बेला आएको हो। प्यालेस्टिनी स्रोतहरूका अनुसार हालसम्म दुबै पक्षबीच दुई चरणको संवाद भइसकेको छ।
ट्रम्पले हमासलाई ‘गाजा तुरुन्त छाड्न’ पनि आग्रह गरेका छन्। साथै, उनले गाजाका सर्वसाधारणलाई सम्बोधन गर्दै भने, ‘तपाईंहरूको लागि उज्ज्वल भविष्य पर्खिरहेको छ, तर बन्दी रिहा नभए परिस्थिति झनै जटिल हुन सक्छ।’
ट्रम्पको यो प्रतिक्रिया केही युद्धबन्दीहरू व्हाइट हाउसमा भेटघाट गरेपछि आएको हो।