डोटी – पछिल्लो समय राजसंस्था पुनःस्थापनाको माग गर्दै भइरहेका प्रदर्शनहरूलाई संकेत गर्दै गृहमन्त्री रमेश लेखकले राजतन्त्र फर्काउने नाममा भइरहेका गतिविधिहरु निरर्थक रहेको बताएका छन्।
शनिबार नेपाल प्रेस युनियन, डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले नेपालमा लोकतन्त्रविरुद्ध विभिन्न षड्यन्त्र भइरहेकाले त्यसप्रति सचेत रहनुपर्ने बताएका छन्। उनका अनुसार गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन।
“क्रान्तिबाट विस्थापित राजसंस्था पुनःस्थापना भएको उदाहरण विश्वमा विरलै पाइन्छ,” उनले भने, “नेपालमा उन्नत लोकतन्त्र स्थापित भएकाले पूर्वराजा ज्ञानेन्द्र नागरिकसरह नेपालमै रहन पाएका छन् र आफ्ना अधिकार उपभोग गरिरहेका छन्।”
उनले नेपाली समाज निरंकुशताबाट लोकतन्त्रमा प्रवेश गरिसकेको भन्दै राजतन्त्र फर्कने भ्रममा नपर्न आग्रह गरे। साथै, पूर्वराजालाई पार्टी खोलेर खुला राजनीतिक प्रतिस्पर्धामा आउन चुनौतीसमेत दिए। उनका अनुसार पूर्वराजासँग अन्य नागरिकसरह पार्टी खोल्ने र चुनाव लड्ने अधिकार छ।