अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर सम्बन्धी नयाँ निर्णयपछि अमेरिकी शेयर बजारमा गिरावट आएको छ। लगानीकर्ताहरू कर नीतिको सम्भावित असरबारे चिन्तित देखिएका छन्।
सोमबार नास्डाक परिसूचकमा महत्वपूर्ण गिरावट आएको छ, जुन सन् २०२२ यताकै ठूलो गिरावट मानिन्छ। प्रमुख प्रविधि कम्पनीहरूमा नकारात्मक असर परेको देखिएको छ। टेस्लाको शेयर १५.४ प्रतिशतले घटेको छ भने चिप निर्माता कम्पनी एनभिडियाको शेयर पनि ५ प्रतिशतले घटेको छ। त्यस्तै, मेटा, अमेजन, र अल्फाबेटका सेयर मूल्यमा समेत गिरावट देखिएको छ।
यसैबीच, अमेरिकी राजनीतिमा चलिरहेको बहसले पनि शेयर बजारमा अस्थिरता ल्याएको विश्लेषकहरूको भनाइ छ। एक अन्तर्वार्तामा ट्रम्पले अमेरिकी राजनीति संक्रमणकालमा रहेको बताएका थिए, जसको प्रभाव बजारमा देखिएको हो।
ह्वाइट हाउसका प्रवक्ता केस देसाइले सोमबार उद्योग क्षेत्रका नेताहरूलाई ट्रम्पको कर नीतिलाई समर्थन गर्न आग्रह गरेका छन्।
गत हप्ता अमेरिकी शेयर बजार सकारात्मक देखिएको थियो। तर, पछिल्ला दिनमा विदेशी कच्चा पदार्थमा कर लगाउने निर्णयका कारण लगानीकर्ताहरूमा त्रास फैलिएको छ। विश्लेषकहरूका अनुसार, बजारका उतार-चढाव आगामी दिनमा पनि जारी रहने सम्भावना छ