तराई–मधेशका विभिन्न जिल्लाहरूमा आज रंगहरूको महान् पर्व होली धूमधामका साथ मनाइँदै छ। नेपालका पहाडी तथा हिमाली जिल्लाहरूमा भने होली बिहीबार नै मनाइएको थियो। परम्परागत रूपमा पहाडी र तराई क्षेत्रबीच एक दिनको अन्तर राखी होली मनाउने चलन रहेको छ। यसैअनुसार, आज तराईमा उल्लासमय वातावरणमा होली पर्व मनाइँदै छ।
सरकारले होलीको अवसरमा पहाडी जिल्लाहरूमा बिहीबार सार्वजनिक बिदा दिएको थियो भने तराईका जिल्लाहरूमा आज बिदा दिइएको छ। होलीले समाजमा समानता, सद्भाव, भाइचाराको भावना फैलाउँदै सबैलाई एउटै रंगमा रंगाउने अवसर प्रदान गर्ने विश्वास गरिन्छ।
विभिन्न नाम र परम्परागत विशेषता
नेपालमा स्थानअनुसार होलीका नाम र मनाउने शैलीमा भिन्नता पाइन्छ। पहाडी तथा हिमाली भेगमा यस पर्वलाई ‘फागु पूर्णिमा’ भनिन्छ भने तराई–मधेशमा ‘होली’ भनेर चिनिन्छ। मैथिली समुदायमा होलीलाई ‘फगुआ’ वा ‘होरी’ भन्ने गरिन्छ।
तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली मनाइन्छ, तर ऐतिहासिक एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण जनकपुरधाममा भने अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट मात्र होली मनाउने परम्परा रहँदै आएको छ। मिथिला परिक्रमामा सहभागी तीर्थयात्रीहरूले जनकपुरधामको परिक्रमा पूरा गरेपछि मात्र होली मनाउने चलन छ।
जनकपुरधाममा होली विशेष आकर्षणको रूपमा मनाइन्छ। यहाँ होरी गायन प्रतियोगिता तथा महामूर्ख सम्मेलनजस्ता रोचक कार्यक्रमको आयोजना गरिन्छ, जसले पर्वलाई थप रमाइलो बनाउँछ।
सामाजिक सद्भाव र धार्मिक महत्व
होली हिन्दू धर्मका साथै अन्य समुदायले पनि उल्लासपूर्वक मनाउने पर्व हो। यो पर्वले हिन्दू, मुस्लिम, सिख, इसाई, मंगोल, किराँत, राई लगायत सबै जाति र धर्मका मानिसहरूलाई एकताको सूत्रमा बाँध्ने काम गर्छ। समाजमा सौहार्दता, प्रेम र आपसी मेलमिलापको सन्देश दिनु होली पर्वको मुख्य सार हो।
धार्मिक दृष्टिले पनि होलीलाई असत्यमाथि सत्य, छलमाथि निष्छलता, र अधर्ममाथि धर्मको विजयको प्रतीक मानिन्छ। पौराणिक कथाअनुसार, हिरण्यकश्यपुका छोरा भक्त प्रह्लादलाई बचाउन भगवान् विष्णुले होलिकालाई जलाइदिएको सम्झनामा यो पर्व मनाउने गरिन्छ।
मिथिला क्षेत्रको विशेष परम्परा
मिथिला क्षेत्रमा होली पर्व वैदिक परम्परासँग समेत गहिरोसँग जोडिएको छ। यहाँ होलीका अवसरमा विशेष रूपमा चीर जलाउने प्रथा रहेको छ। साथै, नयाँ अन्नलाई आगोमा पोलेर प्रसादका रूपमा ग्रहण गर्ने चलन समेत रहेको छ। यसलाई कृषि संस्कृतिसँग जोडिएको मानिन्छ।
होली पर्वले मानिसहरूलाई विगतका वैमनस्यता भुलेर नयाँ उत्साह र उमङ्गका साथ सामाजिक एकता कायम गर्न प्रेरित गर्छ। रंगहरूको पर्व होली हरेक वर्ष अझ उल्लासमय रूपमा मनाउने परम्परा रहिआएको छ।