काठमाडौं । पछिल्लो ५६ दिनमा अमेरिकाबाट ४३ जना नेपालीलाई स्वदेश फर्काइएको छ। डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपति पद सम्हालेपछि आप्रवासन नीतिमा कडाइ गर्दै अवैध रूपमा बसोबास गरेका विदेशी नागरिकलाई निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार, शनिबार (चैत २) मात्रै एक नेपालीलाई अमेरिका सरकारले डिपोर्ट गरेको छ। कार्यालयकी सूचना अधिकारी सीता परियारले पछिल्ला ५६ दिनमा ४३ नेपाली स्वदेश फर्किएको जानकारी दिइन्।
राष्ट्रपति ट्रम्पले शपथ लिएपछि आप्रवासनसम्बन्धी नयाँ नीति लागू गर्दै अवैध रूपमा अमेरिका पुगेका नागरिकको विवरण सार्वजनिक गरेको थियो। सोही सूचीमा १,३६५ नेपालीसहित १४ लाखभन्दा बढी आप्रवासी समेटिएको छ।
गएको फागुन २१ गते मात्रै अमेरिका सरकारले नौ नेपालीलाई डिपोर्ट गरेको थियो। विभिन्न समयमा अमेरिका प्रवेश गरेका तर कानुनी प्रक्रिया पूरा नगरेका कारण उनीहरूलाई निष्कासन गरिएको हो। अवैध रूपमा प्रवेश गर्ने, गलत कागजात प्रयोग गर्ने वा भिसा अवधि समाप्त भएर पनि बसेका कारण उनीहरूलाई फिर्ता पठाइएको बताइएको छ।
डिपोर्ट भएर स्वदेश फर्किएकालाई त्रिभुवन विमानस्थलमा आवश्यक प्रक्रिया पूरा गरी प्रहरीलाई बुझाइने गरिन्छ। धेरैजसो मानिस मानव तस्करको प्रलोभनमा परी गैरकानुनी रूपमा अमेरिका पुगेको पाइएको छ।
सन् २०२४ मा विभिन्न देशबाट १,२२८ नेपालीलाई डिपोर्ट गरिएको थियो, जसमध्ये ३५ जना अमेरिका सरकारद्वारा स्वदेश फर्काइएका थिए।