काठमाडौं – नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी प्रमुखका रूपमा चयन गरेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णयअनुसार थापा नेपाल प्रहरीको ३१औं आईजीपी बनेको जानकारी दिएका छन्।
यसअघि प्रहरी महानिरीक्षक रहेका वसन्त कुँवर सोमबार अनिवार्य अवकाशमा गएपछि नयाँ नेतृत्व चयन गरिएको हो। कुँवर २०७९ चैत १० गते प्रहरी प्रमुख बनेका थिए। ३० वर्षे सेवा अवधिसहित अवकाश पाएपछि गृह मन्त्रालयले उनलाई औपचारिक रूपमा बिदाइ गरेको छ। कुँवरसँगै एआईजी टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत, जनक भट्टराई तथा डीआईजी ध्रुव राउत, भोला रावल र गणेश चन्द पनि अवकाशमा गएका छन्।
नवनियुक्त आईजीपी थापा २०५२ साल भदौ १९ गते इन्स्पेक्टरका रूपमा प्रहरी सेवामा प्रवेश गरेका थिए। उनले २०६३ भदौ ८ गते डीएसपी, २०७२ साउन ८ गते एसपी, २०७५ फागुन ६ गते एसएसपी, २०७९ असार १७ गते डीआईजी, र २०७९ चैत ६ गते एआईजीमा बढुवा पाएका थिए।
प्रहरी महानिरीक्षक पदका लागि एआईजीहरू सुदिप गिरी, टेकबहादुर तामाङ र दीपक थापा प्रतिस्पर्धामा थिए। वरिष्ठता, कार्यदक्षता र कार्यसम्पादन मूल्यांकनका आधारमा थापा आईजीपी चयन भएका हुन्। उनको कार्यकाल करिब ६ महिना रहनेछ, जसअनुसार २०८२ भदौ १८ मा उनी अवकाश पाउनेछन्।