नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) का ६ पद रिक्त भएका छन्। सोमबार राति १२ बजेदेखि एआईजीहरू टेकप्रसाद राई, दुर्गा सिंह, बुद्धिराज गुरुङ, कुवेर कडायत र जनक भट्टराई सेवा अवधी पुगेपछि अवकाशमा गए। साथै, प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर अवकाश भएपछि रिक्त पदमा एआईजी दीपक थापा बढुवा भए। थापा आईजी भएपछि उनको एआईजी पद पनि खाली भइ प्रहरी संगठनमा ६ एआईजी पद रिक्त भएको हो।
नेपाल प्रहरीमा जनपदतर्फ आठ एआईजी पदको संरचना छ, जसमा हाल दुई मात्रै पदाधिकारी कार्यरत छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालयको नेतृत्व टेकबहादुर तामाङले गरिरहेका छन् भने प्रहरी एकेडेमीको कमान्ड सुदीप गिरीले सम्हालिरहेका छन्। बाँकी छ विभाग— मानव स्रोत, प्रशासन, कार्य, अपराध अनुसन्धान, प्रदेश समन्वय र सीआईबी— एआईजीविहीन छन्।
रिक्त पद पूर्तिका लागि प्रहरी संगठनभित्र बढुवाका आकांक्षीहरूको लबिइङ तीव्र बनेको छ। प्रमुख दावेदारका रूपमा सीआईबीका डीआईजी चन्द्रकुवेर खापुङ, मधेश प्रदेशका डीआईजी लाममणि आचार्य, बागमती प्रदेशका डीआईजी कृष्णहरि शर्मा, लुम्बिनी प्रदेशका डीआईजी दानबहादुर कार्की, प्रहरी एकेडेमीका डीआईजी मनोज केसी, र कोशी प्रदेशका डीआईजी राजन अधिकारी छन्।
यस्तै, सन् १९९६ (२०५३ साल) मा इन्स्पेक्टरका रूपमा प्रहरी सेवामा प्रवेश गरेका सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी लगायत पनि बढुवाका प्रतिस्पर्धी हुन्। मन्त्रिपरिषद्को निर्णयबाट यी प्रतिस्पर्धीहरू मध्ये ६ जनालाई एआईजी पदमा बढुवा गरिनेछ।
प्रहरी नेतृत्वको भावी संरचना तय गर्ने चरण भएकाले बढुवा प्रक्रिया प्रतिस्पर्धात्मक र पेचिलो हुने देखिन्छ। विभिन्न विभागहरूको नेतृत्व गर्ने अधिकारी चयनमा राजनीतिक तथा प्रशासनिक प्रभावसमेत पर्ने भएकाले बढुवाका लागि दावेदारहरू सक्रिय लबिइङमा जुटिरहेका छन्।