काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सञ्चालन भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि परीक्षा सुरू भएको हो।
देशभरका २,०७९ परीक्षा केन्द्रबाट सुरु भएको परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी छन्। यसअघि, गत वर्ष ४,६४,७८५ जना विद्यार्थीले परीक्षा दिएका थिए, जसअनुसार यो वर्ष परीक्षार्थीको संख्या ४९ हजार २८६ ले बढेको छ।
पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्याश्रम समूहको अनिवार्य संस्कृत रचना तथा मदरसा समूहको अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन भइरहेको छ। परीक्षा बिहान ११ बजेसम्म चल्नेछ।
परीक्षा व्यवस्थित बनाउन १५० विद्यार्थीसम्म भएका केन्द्रमा एक सहायक केन्द्राध्यक्ष र २० विद्यार्थी बराबर एक निरीक्षक खटाइएको छ। ७५ भन्दा कम विद्यार्थी भएका केन्द्रमा भने सहायक केन्द्राध्यक्ष नहुने व्यवस्था गरिएको छ।
एसईई परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ ।