सभामुख देवराज घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा सहभागी हुन उज्वेकिस्तान प्रस्थान गर्ने भएको छ। सभामुखसहित ९ सदस्यीय टोली चैत २० गते नेपालबाट उज्वेकिस्तानतर्फ जाने र वैशाख २ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ।
उक्त टोलीमा प्रमुख चार राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन्। नेकपा (एमाले)बाट राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्य, नेपाली कांग्रेसबाट प्रमुख सचेतक श्याम घिमिरे, माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य सूर्यमान दोङ, तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सांसद सोविता गौतम टोलीमा रहनेछन्।
यसैगरी, संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, प्रतिनिधिसभा सचिव हर्क राई, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव राजु रिमाल, तथा सभामुखका स्वकीय सचिव तेजप्रकाश भट्टराई पनि टोलीमा समावेश छन्।
आईपीयू महासभामा विभिन्न देशका संसदका प्रतिनिधिहरूको सहभागिता रहनेछ। नेपालका तर्फबाट उक्त सम्मेलनमा संसदीय कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।