काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा नेपालले प्राप्त गर्ने वैदेशिक सहायता प्रतिबद्धतामा उल्लेख्य वृद्धि भएको छ। अर्थ मन्त्रालयका अनुसार, २०८१ माघ मसान्तसम्म कुल दुई खर्ब २१ अर्ब ४५ करोड रुपैयाँ बराबरको सहायता प्रतिबद्धता प्राप्त भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा करिब दोब्बरले वृद्धि हो।
गत आर्थिक वर्ष २०८०/८१ को पहिलो सात महिनामा नेपालले जम्मा ८९ अर्ब ४९ करोड रुपैयाँ मात्र वैदेशिक सहायता प्रतिबद्धता पाएको थियो। यस वर्ष सहायता प्रतिबद्धतामा आएको वृद्धिलाई विकास परियोजनामा लगानी विस्तारको संकेतको रूपमा हेरिएको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, प्राप्त कुल सहायता प्रतिबद्धतामध्ये २५.५ प्रतिशत अनुदान रहेको छ भने ७४.५ प्रतिशत ऋणका रूपमा रहेको छ।
ऊर्जा क्षेत्रमा सबैभन्दा बढी लगानी
नेपालले प्राप्त गरेको वैदेशिक सहायता प्रतिबद्धतामा ऊर्जा क्षेत्र प्राथमिकतामा परेको छ। कुल प्रतिबद्ध रकममध्ये २५.५ प्रतिशत ऊर्जा क्षेत्रमा छुट्याइएको छ। त्यसपछि २१.६ प्रतिशत वातावरण तथा जलवायु, १२.९ प्रतिशत सिँचाइ, ११.५ प्रतिशत खानेपानी, ९.१ प्रतिशत विपद् व्यवस्थापन, ६.१ प्रतिशत यातायात, ४.३ प्रतिशत कृषि तथा बाँकी अन्य क्षेत्रहरूमा लगानी हुने मन्त्रालयले जनाएको छ।
सरकारले वैदेशिक सहायता सदुपयोग गर्दै पूर्वाधार विकास, जलवायु परिवर्तन न्यूनीकरण, तथा समग्र आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने योजना बनाएको छ।