काठमाण्डौ – नेपालमा विवाह गर्ने कानुनी उमेर २० वर्षबाट १८ वर्षमा झार्ने विषयमा बहस तिव्र बनेको छ। सरकारले गठन गरेको कार्यदल र संसदको कानुन समितिले विवाह गर्ने उमेर १८ वर्ष कायम गर्नुपर्ने सुझाव दिएका छन्।
आइतबार बसेको प्रतिनिधि सभाको कानुन समितिको बैठकमा पनि यो विषय उठान भएको थियो। बैठकमा सांसदहरूले विवाह गर्ने उमेर घटाउनुपर्ने तर्क गर्दै सरकारलाई आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरे।
गृहमन्त्री रमेश लेखकले बैठकमा विवाह गर्ने उमेर घटाउने वा “रोमियो-जुलिएट कानून” अपनाउने विषयमा छलफल भइरहेको जानकारी दिए। “बालबालिकासम्बन्धी ऐन छलफलमै छ। विवाह गर्ने उमेर २० बाट १८ वर्ष बनाउने विषय र रोमियो-जुलिएट अवधारणा कानुनमा समेट्ने कि भन्ने विषय उठेको छ,” गृहमन्त्री लेखकले भने।
उनका अनुसार रोमियो-जुलिएट अवधारणाअनुसार १६ देखि १८ वर्षका किशोर–किशोरीबीच आपसी सहमतिमा भएको शारीरिक सम्बन्धलाई बलात्कार मानिँदैन। “कतिपय मुलुकले यो कानुन अपनाएका छन्, तर यसमा उमेर तथा अन्य सर्तहरू राख्न सकिन्छ,” उनले थपे।
सांसदहरू किन १८ वर्ष उमेरको पक्षमा?
बैठकमा नेपाली कांग्रेसकी सांसद नागिना यादवले विवाह गर्ने उमेर १८ वर्ष कायम गर्नुपर्ने बताइन्। “युवाहरू विदेश जाने वा कानुनी समस्यामा पर्ने अवस्था छ। समाजमा विवाहबिना बच्चा जन्मिएर जन्मदर्ता गर्न समस्या देखिएको छ,” उनले भनिन्। “विवाह गर्ने उमेर १८ वर्ष बनाउनु समाजको माग हो।”
नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले विवाह गर्ने उमेर घटाउन आवश्यक भए पनि कतिपयले विरोध गर्ने बताए। “सेतो तन्नामा सुत्नेहरूले उमेर घटाउनुपर्छ भन्ने विषयमा आपत्ति जनाउँछन्, तर समस्या जस्ताको त्यस्तै छ,” उनले भने।
यसअघि नै नागरिकता १६ वर्षमा दिने र १८ वर्षमा मतदान गर्न पाउने कानुनी व्यवस्था छ। त्यही आधारमा कतिपय सांसदले विवाह गर्न पाउने उमेर पनि १८ वर्ष हुनुपर्ने तर्क गरिरहेका छन्।
सरकारले विवाह गर्ने उमेर घटाउनेबारे संसदमा थप छलफल गर्ने तयारी गरिरहेको छ।