काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट बर्खास्त गरेपछि उनले कानुनी लडाइँ लड्ने तयारी गरेका छन्। उनले आफूलाई औपचारिक रूपमा बर्खास्तीको पत्र प्राप्त भएपछि अदालत जाने बताएका छन्।
बर्खास्तीको निर्णयबारे प्रतिक्रिया दिँदै घिसिङले भने, “मैले अहिलेसम्म पत्र पाएको छैन। पत्र पाएपछि कानुनी प्रक्रिया अघि बढाउँछु र त्यसपछि सबै विवरण सार्वजनिक गर्छु।”
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णय गरेको थियो। सरकारले घिसिङलाई किन हटायो भन्ने स्पष्ट कारण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
कुलमान घिसिङ २०७३ सालमा पहिलोपटक नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए। उनको नेतृत्वमा नेपालले लोडसेडिङमुक्त राष्ट्र बन्ने महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो। दोस्रो कार्यकालका लागि २०७८ सालमा पुनः नियुक्त भएका घिसिङको कार्यकाल बाँकी रहँदै सरकारले उनलाई हटाउने निर्णय गरेको हो।
यस घटनाले ऊर्जा क्षेत्रका विज्ञ तथा सर्वसाधारणको ध्यान आकर्षित गरेको छ। घिसिङको नेतृत्वमा प्राधिकरणले वित्तीय सुधारका साथै ऊर्जा उत्पादन, वितरण र व्यवस्थापनमा उल्लेखनीय सफलता हासिल गरेको थियो।
अब घिसिङको कानुनी लडाइँ कत्तिको प्रभावकारी हुनेछ ।