काठमाडौं – जानी-नजानी भएका पाप नाश हुने विश्वासका साथ आज चैत्र कृष्ण पक्षको एकादशी, अर्थात् पापमोचनी एकादशी, देशभर व्रत, पूजा, पाठ गरी मनाइँदैछ। प्रत्येक वर्ष चैत्र कृष्ण एकादशीका दिन मनाइने यो एकादशी व्रत भगवान् विष्णुको पूजा, उपासना तथा आराधनासहित धूमधामका साथ सम्पन्न गरिन्छ।
सनातन धर्मशास्त्रका अनुसार पापमोचनी एकादशीको माहात्म्य भगवान् श्रीकृष्णले महाराज युधिष्ठिरलाई सुनाएका थिए भने लोमस ऋषिले मान्धाता राजालाई यसको महत्त्व बताएका थिए। पौराणिक कथाअनुसार, वसन्त ऋतुमा अप्सराहरूको विहारस्थल चैत्ररथ वनमा मेधावी नाम गरेका ऋषि कठोर तपस्या गर्दै बसेका थिए।
मेधावी ऋषि र मञ्जुघोषाको कथा
चैत्ररथ वनमा तपस्या गरिरहेका मेधावी ऋषिलाई मञ्जुघोषा नामकी अप्सराले मोहित पारिन्। ऋषि मोहमा परी आफ्नो तपस्या, आचार, विचार, नियम सबै भुलेर अप्सरासँग रमाउन थाले। उनको यो मोह ५५ वर्ष, ९ महिना, ३ दिनसम्म निरन्तर चलिरह्यो।
अन्ततः जब मञ्जुघोषाले बिदा लिन चाहिन्, तब मेधावी ऋषिले ध्यान गरे र आफूले दीर्घ समय व्यर्थ गुमाएको महसुस गरे। अत्यन्त क्रोधित भएर उनले अप्सरालाई “तँ पिशाचिनी होइजा” भनी श्राप दिए।
अप्सराले भयभीत हुँदै ऋषिसमक्ष क्षमा मागिन् र श्राप निवारणको उपाय खोजिन्। त्यसपछि मेधावी ऋषिले चैत्र कृष्ण एकादशीको पापमोचनी व्रत ग्रहण गरेमा समस्त पाप नाश हुने र मुक्तिको मार्ग प्राप्त हुने उपाय सुझाए। अप्सराले पनि यो व्रत गरेपछि श्रापबाट मुक्त भई पुनः स्वर्ग फर्किइन्। मेधावी ऋषि स्वयंले पनि यो व्रत ग्रहण गरी आफ्नो तपस्या पुनः प्राप्त गरेका थिए।
पापमोचनी एकादशीको महत्त्व
सनातन धर्मअनुसार, यस एकादशीको व्रत लिनाले मानवले जन्म-जन्मान्तरमा जानी-नजानी गरेका सम्पूर्ण पाप नष्ट हुन्छन्। पापमोचनी एकादशीको कथा श्रवण गर्नाले मात्र पनि एक हजार गाई दान गरे बराबरको पुण्य प्राप्त हुने विश्वास गरिन्छ।
यस दिन श्रद्धालुहरू बिहानै उठी स्नान गरी व्रत बस्छन्, विष्णु भगवानको पूजा-आराधना गर्छन् र भजन-कीर्तनमा संलग्न हुन्छन्। यस व्रतमा सात्त्विक भोजन गर्नुपर्ने, व्रतधारीहरूले फलाहारमा ध्यान दिनुपर्ने तथा ब्रह्मचर्य पालना गर्नुपर्ने धार्मिक मान्यता छ।
पण्डित बालमुकुन्द देवकोटाका अनुसार, “यो व्रत गर्दा केवल पाप मात्र नष्ट हुँदैन, पुण्य प्राप्ति, मानसिक शुद्धता, आत्मसंयम र मोक्ष मार्ग पनि प्रशस्त हुन्छ।” त्यसैले पापमोचनी एकादशीलाई विशेष गरी आत्मशुद्धि र धार्मिक उन्नतिका लागि उत्तम व्रत मानिन्छ।
पापमोचनी एकादशी व्रत कसरी गर्ने?
१. व्रत बस्ने व्यक्तिले एक दिनअघिदेखि नै सात्त्विक आहार ग्रहण गर्नुपर्छ।
- एकादशीका दिन बिहानै स्नान गरी विष्णु भगवानको ध्यान गर्नुपर्छ।
- दिनभर उपवास गर्दै फलाहार वा एकछाक सात्त्विक भोजन गर्न सकिन्छ।
- रातभर जाग्राम (भजन-कीर्तन) गर्दा पुण्य लाभ बढी प्राप्त हुन्छ।
- द्वादशीका दिन ब्राह्मण भोजन गराई व्रत समापन गर्नुपर्छ।
धार्मिक आस्था अनुसार, जसले यो व्रत श्रद्धापूर्वक गर्छ, उसको पाप नष्ट भई पुण्य प्राप्त हुन्छ र मोक्षको मार्ग प्रशस्त हुन्छ। त्यसैले यो व्रतलाई आत्मशुद्धि र पुण्य संकलनको अवसरका रूपमा लिइन्छ।