काठमाडौं – प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको बैठकमा नेपाल विद्युत् प्राधिकरणका बर्खास्त गरिएका प्रबन्ध निर्देशक कुलमान घिसिङको विषय उठाउन खोज्दा विवाद उत्पन्न भएको छ।
मंगलबार बसेको बैठकको एजेन्डा बीपी राजमार्ग र हुलाकी राजमार्गका विषयमा छलफल गर्ने रहेको थियो। बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित मन्त्रालयका सचिवहरू उपस्थित थिए।
बैठक सुरु भएपछि सभापति ऋषिकेश पोखरेलले नियमित कार्यसूचीअनुसार छलफल अघि बढाएका थिए। तर, नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले समसामयिक विषयमा धारणा राख्ने समय माग गरे। सभापतिले निर्धारित कार्यसूचीअनुसार मात्र धारणा राख्न आग्रह गरेपछि मोदी असन्तुष्ट बने। उनले सार्वजनिक सरोकारका विषयमा कुरा उठाउन पाउनुपर्ने माग गरे।
तर, सत्तारूढ दलका सांसदहरूले बैठकको एजेन्डा फरक रहेको भन्दै मोदीलाई पछि धारणा राख्न आग्रह गरे। यसले मोदी र सभापति पोखरेलबीच भनाभन हुन पुग्यो। मोदीले सभापति पोखरेलको राजीनामा माग्दै कुलमान घिसिङको बर्खास्तीबारे कुरा उठाउन नदिएको आरोप लगाए।
सत्तापक्ष र प्रतिपक्षबीच चर्काचर्की
मोदीले कुलमान घिसिङको बर्खास्ती महत्त्वपूर्ण विषय भएको र यसबारे छलफल हुनु आवश्यक रहेको बताए। तर, सत्ता पक्षका सांसदहरू तारा लामा तामाङ (एमाले), रामकृष्ण यादव (कांग्रेस), मन्जु खाण (कांग्रेस) र मोहन बस्नेत (कांग्रेस) ले सभापतिको समर्थन गर्दै बैठक निर्धारित कार्यसूचीमै केन्द्रित हुनुपर्ने धारणा राखे। एमालेका सांसद गोकुल बास्कोटाले एजेन्डाअनुसार छलफल गरेपछि मात्र अन्य विषयमा कुरा गर्न सकिने बताए।
यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा र हरि ढकालले मोदीलाई समर्थन गरे। बैठकमा होहल्ला भएपछि सांसद ढकालले सभापतिलाई मात्र प्रश्न सोधिएको भन्दै अन्य सांसदलाई जवाफ नदिन आग्रह गरे। एमाले सांसद लामाले ढकालको भनाइलाई व्यंग्य गर्दै “हामी हेर्न मात्रै आएको हो?” भन्ने टिप्पणी गरे।
बैठकमा केही समय विवाद चले पनि अन्ततः निर्धारित कार्यसूचीअनुसार सडक पूर्वाधारका विषयमा छलफल अघि बढाइएको छ। विपक्षी सांसदहरूले समसामयिक विषय उठाउने मौका नपाएको भन्दै असन्तुष्टि जनाएका छन्।