काठमाडौं – सहकारी ठगीको अभियोगमा नेपाली कांग्रेसकी सांसद माया राईलाई प्रहरीले पक्राउ गरेको छ। शनिबार बिहान उनी काठमाडौंको कपन क्षेत्रबाट पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिएका छन्। पक्राउ परेपछि राईलाई थप अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा बुझाइएको छ।
सांसद माया राई स्वर्णलक्ष्मी सहकारी संस्थासँग जोडिएको ठगी घटनामा लामो समयदेखि विवादमा परेकी थिइन्। उनी दुई कार्यकालसम्म उक्त सहकारीको सञ्चालक समितिमा रहेकी थिइन्। त्यस समयमा संस्थाले बचतकर्ताको ठूलो रकम हिनामिना गरेको प्रमाण भेटिएको छ।
यसअघि पनि उनीमाथि ठगीमा संलग्नताको आरोप लागे पनि प्रहरी प्रशासनले उनीमाथि आवश्यक कारवाही अघि बढाएको थिएन। उनलाइ सरकारी संरक्षण रहेको भन्दै आलोचना हुँदै आएको थियो। ठेगाना नखुलेको बहानामा प्रहरीले उनलाई कारवाही नगरी उन्मुक्ति दिएको आरोप समेत लाग्दै आएको थियो।
भोजपुर स्थायी घर भएकी राई नेपाली कांग्रेसबाट समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा प्रवेश गरेकी हुन्। फरार सूचीमा रहेका बेला पनि उनले नियमित रूपमा तलब भत्ता लिइरहेको प्रमाण सार्वजनिक भएपछि उनीप्रति आलोचना थपिएको थियो।
शुक्रबार उनले संसदमा गोप्यरुपमा उपस्थिति जनाएको नयाँ पत्रिकाले सार्वजनिक गरेपछि गृह मन्त्रालयमाथि व्यापक दबाब परेको थियो। त्यसपछि गृह प्रशासनले प्रहरीलाई राईको पक्राउको निर्देशन दिएको स्रोतले जनाएको छ।
स्वर्णलक्ष्मी सहकारी प्रकरणका मुख्य अभियुक्त जिवी राई भने अझै फरार छन्। प्रहरीका अनुसार जिवी राईको खोजी कार्य तीव्र पारिएको छ।