काठमाडौं — सरकारले आन्दोलनरत शिक्षकहरूसँग बुधबार सिंहदरबारमा गरेको वार्ता सकारात्मक भएको छ। वार्तापछि दुबै पक्षबीच आन्दोलन स्थगन गर्ने सहमति जुटेको प्रतिनिधिसभाको शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिएका छन्।
थापाका अनुसार, शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरूबिच नौबुँदे सहमति भएको छ, जसलाई मन्त्रिपरिषदबाट निर्णय गराउने सहमति पनि भएको छ। सहमतिमा अहिलेको संसद् अधिवेशनभित्रै शिक्षकसम्बन्धी कानुन पारित गर्ने विषय समावेश गरिएको छ।
“वार्ता सकारात्मक रह्यो, आन्दोलन रोक्ने सहमति भएको छ,” थापाले बताए। वार्तापछि सहमतिलाई अनुमोदन गर्न मन्त्रीहरू मन्त्रिपरिषद्को बैठकमा सहभागी हुन गएका छन्। आन्दोलनरत शिक्षकहरूले मन्त्रिपरिषद्को निर्णय पर्खिरहेका छन्।
निर्णय सार्वजनिक भएसँगै शिक्षक पक्षले पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।
सरकार र शिक्षकबीच भएको यो सहमति लामो समयदेखिको शिक्षा क्षेत्रको तनाव कम गर्ने दिशामा महत्वपूर्ण कदम मानिएको छ।