काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले वर्तमान संघीय गणतान्त्रिक व्यवस्थाले देशलाई दिशाहीन बनाएको आरोप लगाउँदै राजसंस्था पुनर्स्थापनाको मागलाई थप सशक्त रूपमा अघि सारेका छन्।
१३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान शासन व्यवस्था भ्रष्टाचारको स्रोतमा परिणत भएको बताएका छन्। “संघीय, धर्मनिरपेक्ष गणतन्त्र अहिले भ्रष्टहरू उत्पादन गर्ने कारखाना बनेको छ,” उनले भने, “शान्ति, स्थायित्व र आर्थिक विकास सम्भव हुने सपना अब पुरा हुँदैन।”
अध्यक्ष थापाका अनुसार, राप्रपा, नेपालले विगतदेखि नै सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्थाको पुनर्स्थापनाको पक्षमा जनमत सिर्जना गर्दै आएको छ। उनले वर्तमान तीन तहको संघीय प्रणालीलाई अप्राकृतिक र अपारदर्शी भन्दै केन्द्रीय र स्थानीय तहमा सीमित संरचना आवश्यक भएको धारणा राखे।
“बेला बेलामा हामीले सडक संघर्ष गर्दै आएका छौँ। अब वर्षायाम सुरु हुनु अघि नै गणतन्त्रविरुद्धको राष्ट्रव्यापी जनजागरण अभियान सुरु गरिनुपर्छ,” थापाले भने।
कार्यक्रममा अध्यक्ष थापाले हिन्दू सांस्कृतिक मूल्यमान्यताको संरक्षण, सुशासन र सामाजिक स्थिरताको लागि सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। उनले हिन्दुराष्ट्रको स्थापना वर्तमानको आवश्यकता भएको जिकिर गर्दै अब वैचारिक हैन, व्यवहारिक अभियान आवश्यक भएको बताए।
राप्रपा, नेपाल आबद्ध मजदुर संगठन ‘टुकोन’ द्वारा आयोजित कार्यक्रममा सहभागी श्रमिकहरू पनि वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्ट देखिएका थिए। उनीहरूले स्थायित्व र आर्थिक सुरक्षाको प्रत्याभूति गराउन राष्ट्रिय परिचय बोकेको वैकल्पिक मार्ग रोज्नुपर्ने माग उठाएका थिए।