लन्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा फेला परेको शव नेपाली विद्यार्थी सुशान ओलीको भएको पुष्टि भएको छ। लन्डन मेट्रोपोलिटन प्रहरीले औँठाछाप परीक्षणमार्फत उक्त शव रुकुम पश्चिम, मुसीकोट नगरपालिका–१२ निवासी २० वर्षीय ओलीको भएको प्रमाणित गरेको हो।
नेपाली दूतावासका प्रवक्ता तथा उपनियोग प्रमुख विपीन दुवाडीका अनुसार, राहदानी विभागबाट मगाइएको औँठाछाप परीक्षण गर्दा शवसँग मेल खाएको पुष्टि भएको हो।
गत अप्रिल २१ देखि सम्पर्कविहीन भएका ओलीको खोजी कार्यमा संलग्न उनका सहपाठीहरूले प्रहरी र दूतावासलाई जानकारी दिएका थिए। शव भेटिएको केही दिनपछि औपचारिक परीक्षणका आधारमा उनी नै भएको निश्चित गरिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, घटनामा आपराधिक संलग्नता देखिएको छैन र आत्महत्या हुन सक्ने आशंका गरिएको छ। यद्यपि, विस्तृत अनुसन्धान भने जारी रहेको बताइएको छ।
ओलीका परिवारसँग समन्वय गर्दै शव व्यवस्थापन र अन्तिम संस्कारको प्रक्रिया अघि बढाइएको दूतावासले जनाएको छ। शव नेपाल ल्याउने वा बेलायतमै अन्त्येष्टि गर्नेबारे परिवारको चाहनालाई प्राथमिकता दिइने बताइएको छ।
ओली हाल लन्डनस्थित एक शैक्षिक संस्थामा अध्ययनरत थिए।
अझ विस्तृत जानकारीका लागि अनुसन्धानको प्रतिक्षा भइरहेको छ ।