बेलायती युवराज ह्यारीले हालै दिएको एक अन्तर्वार्तामा राजपरिवारसँग पुनः सम्बन्ध सुधार्ने इच्छा व्यक्त गरेका छन्। उनले हालै बेलायती अदालतबाट आफूले हराएको सुरक्षा सम्बन्धी मुद्दापछि गहिरो दुःख व्यक्त गर्दै, अब जीवन झगडाको लागि होइन भन्ने बताएका हुन्।
राजपरिवारसँगको विगतको तनाव र विवादका बाबजुद उनले आफ्ना बुबा राजा चार्ल्ससँगको सम्पर्क पुनः कायम गर्न चाहेको बताएका छन्। “जीवन छोटो छ, लडाइँले कुनै समाधान दिंदैन,” ह्यारीले भने।
ह्यारीले आफ्नो र परिवारको सुरक्षा कटौती गरिएकोमा गम्भीर आपत्ति जनाएका छन्। उनले अदालतको निर्णयलाई गम्भीर राजनीतिक चलखेल र योजनाको परिणामको रूपमा व्याख्या गरेका छन्। उनका अनुसार, “सुरक्षा हटाइनु केवल कानुनी मुद्दा होइन, यो मेरो जीवन र सुरक्षित भविष्यसँग जोडिएको विषय हो।”
उनले बेलायतमा फर्किनु अहिले सुरक्षित नभएको भन्दै आफू, पत्नी र बच्चाहरूको सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन्। अहिलेको अवस्थामा उनी केवल राजपरिवारको औपचारिक निम्तोमा मात्र बेलायत फर्कन सक्ने बताएका छन्।
सुरक्षासम्बन्धी मुद्दामा उनले आफ्नो बुबासँग सिधा हस्तक्षेपको अनुरोध नगरेको स्पष्ट पारेका छन्। “मैले उहाँलाई केही गर्न नभनी, केवल विशेषज्ञहरूलाई आफ्नो काम गर्न दिन आग्रह गरेको हुँ,” ह्यारीले स्पष्ट पारे।
उनका अनुसार, अदालतको निर्णयभन्दा पनि त्यस निर्णयमा संलग्न व्यक्तिहरूको सोच र नियतले आफूलाई धेरै चोट पुर्याएको छ। “कसैले यसलाई आफ्नो विजय ठान्न सक्छ, तर मेरो लागि यो गहिरो पीडाको विषय हो,” उनले भावुक हुँदै भने।
युवराज ह्यारीको भनाइले संकेत गर्छ कि उनी विगतका झगडाहरू भुलेर नयाँ सुरुवात गर्न चाहन्छन्—जहाँ परिवार, सुरक्षा र मेलमिलाप नै प्राथमिकता हुनेछन्।