काठमाडौं, वैशाख २१ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (कक्षा १२) आइतबारदेखि देशभर एकैसाथ सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरका अनुसार परीक्षा सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको छ।
साधारण र प्राविधिक दुवै समूहतर्फका नियमित तथा आंशिक परीक्षार्थीका लागि तय गरिएको यो परीक्षा जेठ २ गतेसम्म सञ्चालन हुनेछ। देशभरका ५ हजार २०२ विद्यालयका ५ लाख ११ हजार ५२५ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ। तीमध्ये नियमित परीक्षार्थी ३ लाख ९५ हजार ९०८ छन् भने आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना छन्।
नियमित परीक्षार्थीमध्ये छात्र १ लाख ९८ हजार ८७५ र छात्रा १ लाख ९७ हजार १३ जना छन्। परीक्षार्थी संख्या सबैभन्दा धेरै काठमाडौंमा ६८ हजार १३३ जना रहेको छ भने सबैभन्दा कम मनाङमा मात्र ४५ जना परीक्षा दिइरहेका छन्।
परीक्षाका लागि देशभर १ हजार ५९० केन्द्र तोकिएको छ भने जापानमा रहेको एक केन्द्रसहित कुल १ हजार ५९१ परीक्षा केन्द्र रहेका छन्। काठमाडौंमा १६२ परीक्षा केन्द्र रहेका छन् भने मनाङ, मुस्ताङ र जापानमा भने एक-एक वटा मात्रै केन्द्र छन्।
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। देशभर परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, सहयोगी तथा सुरक्षाकर्मी गरी ४८ हजार २०९ जनशक्ति खटाइएको छ।
यसअघि वैशाख ११ गतेदेखि सुरु हुने तालिका थियो तर शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा स्थगित गरिएको थियो। सरकार र महासंघबीच सहमति भएपछि परीक्षा तोकिएको नयाँ मितिबाट सुरु भएको हो।
यसपटकको परीक्षा शान्तिपूर्ण र मर्यादित तरिकाले सञ्चालन गर्ने तयारीमा बोर्ड जुटेको जनाएको छ।