काठमाडौं, वैशाख २१ – जल तथा मौसम विज्ञान विभागका अनुसार आज आइतबार बिहानदेखि बाग्मती र गण्डकी प्रदेशका विभिन्न स्थानहरूमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकाका धेरैजसो क्षेत्रमा बिहानैदेखि पानी परेको विभागले जनाएको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायुसँगै बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको छ। यसका कारण देशभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ भने कतिपय स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने अनुमान गरिएको छ।
बिहानको जस्तै दिउँसो र बेलुका पनि देशका पहाडी भू–भागमा मौसम बदली हुने र कोशी, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। यसैगरी, हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात समेत हुनसक्ने पूर्वानुमान गरिएको छ।
रातको समयमा पनि पहाडी भेगमा सामान्य बदली रहनेछ भने एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा हुनसक्ने सम्भावना छ। विभागले मौसममा यसरी भइरहने उतार–चढावको बेला सतर्कता अपनाउन सुझाव दिएको छ।
वर्षासँगै चट्याङ, हावाहुरी तथा हिमपातको जोखिम रहेकाले यात्रु, कृषक तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।