काठमाडौं, बैशाख २१ — चार दिनअघि राज्यमन्त्रीमा नियुक्त भएका खमबहादुर गर्बुजाले आइतबार (आज) पद तथा गोपनीयताको शपथ लिने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार शपथ ग्रहण कार्यक्रम बिहान ११:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ।
संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए। उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।
गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति हुन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई पराजित गर्दै म्याग्दीबाट प्रतिनिधित्व हासिल गरेका थिए।
ऊर्जा मन्त्रालयका तत्कालीन राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्रीले केही दिनअघि पदमुक्त गरेपछि उक्त जिम्मेवारी खाली थियो। सोही स्थानमा गर्बुजाको नियुक्ति गरिएको हो।
नवनियुक्त राज्यमन्त्री गर्बुजाले आजको शपथपछि मन्त्रालयको कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ।