काठमाडौं — राजसंस्था समर्थक तथा वैदिक सनातन अधिराज्य पुनःस्थापनाका पक्षधर डा. जगमान गुरुङले आउँदो २०८२ साल जेठ १५ गते नेपालमा गणतन्त्रको अन्त्य भई पूर्वराजा ज्ञानेन्द्र शाह पुनः गद्दी आरोहण गर्ने दाबी गरेका छन्।
संयुक्त जनआन्दोलन संघर्ष समितिका सल्लाहकारसमेत रहेका गुरुङले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै, “जनताले राजाको आवश्यकता तीव्र रूपमा महसुस गर्न थालेका छन्,” भन्दै राजसंस्था फर्किनु समयको माग भएको बताएका हुन्। उनका अनुसार, पूर्वराजा ज्ञानेन्द्रले स्वेच्छाले जनताको नासो जनतालाई सुम्पे पनि अब त्यो जिम्मेवारी पुनः राजामै फर्काउनुपर्ने समय आएको छ।

गुरुङले भने, “श्री ५ ज्ञानेन्द्रले हाँस्दै दरबार छोडेर जनतालाई नासो हस्तान्तरण गर्नुभयो, तर हामी त्यो नासो धान्न सक्दैनौं भन्ने कुरा प्रमाणित भइसकेको छ। त्यसैले अब फेरि जनताकै इच्छाबाट श्री ५ ज्ञानेन्द्रको गद्दीमा पुनः आरोहण हुनेछ।”
उनले वैदिक सनातन अधिराज्यको पुनःस्थापनासँगै संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्रलाई समेट्ने नयाँ संरचना निर्माण हुने दाबी पनि गरे। गुरुङले जनताको ‘सदिच्छा’ अनुसार मात्रै राजा फर्कने बताएका छन्।
“हाम्रो आग्रह छ—राजसंस्थालाई समय अनुसार पुनः परिभाषित गर्दै जनताको आस्थामा आधारित संवैधानिक प्रणालीको स्थापना गरिनुपर्छ,” उनले भने, “श्री ५ को सन्देशमा बहुदलीय प्रजातन्त्रको पक्षमा उल्लेख भएकाले हामी त्यसको संस्थागत विकासमा पनि प्रतिबद्ध छौं।”
गुरुङले २०८२ साल जेठ १५ गतेलाई विशेष दिनको रूपमा व्याख्या गर्दै भने, “गणतन्त्र यही मितिमा स्थापित भएको थियो, अब यही मितिमा यसको समापन हुनेछ। समय चक्र अनुसार परिवर्तन अनिवार्य हुन्छ, र अहिले त्यो मोड आइपुगेको छ।”
उनको यस्तो अभिव्यक्तिले सामाजिक र राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया आइसकेको छ। राजनीतिक स्थायित्व र संविधानको संरक्षाको पक्षमा रहेका वृत्तहरूले यस्ता दाबीलाई गैरजिम्मेवारपूर्ण भन्दै आलोचना गरिरहेका छन्, भने राजसंस्थाको समर्थनमा उभिने समूहहरू भने यसलाई ‘जनताको आवाज’को प्रतिबिम्ब भन्दै स्वागत गरिरहेका छन्।