काठमाडौं, वैशाख २५ – काठमाडौंको तीनकुने क्षेत्रमा बिहीबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। बिहान करिब साढे ६ बजे पेप्सीकोलाबाट रत्नपार्कतर्फ गइरहेको सार्वजनिक बसले मोटरसाइकल र इभी भ्यानलाई ठक्कर दिएको थियो।
दुर्घटनामा नुवाकोटकी २३ वर्षीया नगिना तामाङको ज्यान गएको हो। उनी मोटरसाइकलको पछाडि सवार थिइन्। घाइते अवस्थामा राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएकी तामाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
बस (नम्बर: बा ३ ख ७०६२) ले कोटेश्वर–तीनकुने सडकखण्डमा रहेको मुनीभैरव मन्दिरअगाडि मोटरसाइकल (बा प्र ०२–०५३ प ३८४७) र इभी भ्यान (बा प्र ०१–०२६ च २९२७) लाई ठक्कर दिएको थियो। मोटरसाइकल चालक रामेछापका २७ वर्षीय पदम थापामगरको दाहिने हात भाँचिएको छ र उनी ट्रमा सेन्टरमा उपचाररत छन्।
इभी भ्यानका चालक काभ्रेका ३५ वर्षीय रत्नबहादुर सार्कीको टाउकोमा सामान्य चोट लागेको छ। यस्तै, बसमा सवार दोलखाकी २४ वर्षीया मेनुका बुढाथोकी पनि सामान्य घाइते भएकी छन्। दुवैको उपचार कान्तिपुर अस्पतालमा भइरहेको छ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटना रेड लाइटमा सवारी रोकिरहेकै बेला भएको हो। प्रहरी प्रवक्ता दीपक गिरीले बताएअनुसार बसले पछाडिबाट ती दुई सवारीसाधनलाई ठक्कर दिएको हो।
दुर्घटनासँग सम्बन्धित बस चालक रामकुमार खड्कालाई प्रहरी नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानमा चालकले ‘ब्रेक फेल’ भएको दाबी गरेका छन्। घटनाको विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।