काठमाडौं, ९ वैशाख – भारत र पाकिस्तानबीच जारी युद्ध अभ्यास तथा बढ्दो कूटनीतिक तनावसँगै इन्धन आपूर्ति अवरुद्ध हुने आशंका उठिरहेको बेला भारत तथा नेपाल दुवैले इन्धन आपूर्ति सहज रहेको स्पष्ट पारेका छन्।
भारतीय आयल कर्पोरेसन (IOC) ले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक सूचना जारी गर्दै देशभर पर्याप्त इन्धन मौज्दात रहेको र आपूर्ति प्रणालीमा कुनै अवरोध नभएको जनाएको छ। संस्थाले उपभोक्तालाई आवश्यकता भन्दा बढी इन्धन नस्टक गर्न अनुरोध गर्दै अनावश्यक अफवाहमा नपर्न आग्रह गरेको छ।
“सबै डिपो र आउटलेटहरूमा पेट्रोल, डिजेल तथा एलपी ग्यासको पर्याप्त आपूर्ति छ,” पोस्टमा भनिएको छ, “कृपया अनावश्यक रूपमा स्टक नगर्नुहोस्, भिडभाडबाट जोगिनुहोस्।”
भारतका केही सहरहरूमा युद्धको हल्ला फैलिएपछि स्थानीयबासीले ठूलो संख्यामा इन्धन जम्मा गर्न थालेको पृष्ठभूमिमा भारतीय आयलले यस्तो अपिल जारी गरेको हो।
नेपालतर्फ पनि इन्धनको पर्याप्त भण्डारण रहेको जानकारी नेपाल आयल निगमले दिएको छ। निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार, हाल देशभर २८ हजार किलोलिटर पेट्रोल, ६० हजार किलोलिटर डिजेल र १० हजार मेट्रिकटन एलपी ग्यास मौज्दातमा छ।
नेपालमा दैनिक पेट्रोलको खपत २,२५० किलोलिटर र डिजेलको खपत ४,०००–४,५०० किलोलिटर रहेको हुँदा, हालको भण्डारण सातदेखि १२ दिनसम्म पुग्ने बताइएको छ। निगमले कुनै आपतकालीन अवस्था आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक तयारीमा रहेको जनाएको छ।
भारतबाट इन्धन आयात गर्ने नेपालका लागि स्थिति यथास्थितिमा रहँदा तत्काल अभाव हुने खतरा नरहेको देखिन्छ। तर, सीमा क्षेत्रमा तनाव अझ चुलिने हो भने दीर्घकालीन रणनीति आवश्यक हुनसक्ने विज्ञहरू बताउँछन्।
उपभोक्ताहरूलाई पनि अफवाहमा नपरी संयमित रहने, आवश्यकता अनुसार मात्र इन्धन लिने र बजारमा कृत्रिम अभाव सिर्जना नगर्न सरोकारवालाहरूले आग्रह गरेका छन्।