काठमाडौं, वैशाख २८ — चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा (चैत मसान्तसम्म) मुलुकमा भित्रिएको विप्रेषण (रेमिट्यान्स) आय १० प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन अनुसार, सो अवधिमा रेमिट्यान्स आय ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिसम्म यो आय १७.२ प्रतिशतले वृद्धि भएको थियो। यद्यपि चालु वर्षमा वृद्धि दर केही कम भए पनि कुल रकम अघिल्लो वर्षको तुलनामा अझै उच्च छ।
त्यस्तै, समीक्षा अवधिमा कुल ‘खुद द्वितीय आय’ अर्थात् कुल ट्रान्सफर आय १३ खर्ब एक अर्ब ९४ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ११ खर्ब ७४ अर्ब ५४ करोड रुपैयाँ थियो।
रेमिट्यान्सको वृद्धि सँगै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीहरूको संख्या पनि उल्लेख्य रूपमा बढेको देखिन्छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या तीन लाख ५८ हजार २२२ पुगेको छ, भने पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ४९ हजार ६५२ रहेको छ।
गत वर्षको सोही अवधिमा नयाँ श्रम स्वीकृति तीन लाख २७ हजार ८४२ र पुनः स्वीकृति लिने दुई लाख ११ हजार २२६ रहेका थिए।
रेमिट्यान्स आय तथा श्रम स्वीकृतिमा देखिएको यो वृद्धि अर्थतन्त्रमा सकारात्मक संकेत मानिएको छ, जसले मुलुकको वैदेशिक मुद्रा सञ्चिति तथा उपभोग क्षमतामा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।