भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको सैन्य तनावपछि युद्धविराम लागू भए पनि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै भारतका केही विमानस्थलहरूबाट हुने उडानहरू रद्द गरिएका छन्। एयर इन्डिया र इन्डिगो एयरलाइन्सले मंगलबारका लागि आफ्ना केही गन्तव्यमा हुने उडानहरू स्थगित गरेको जनाएका छन्।
एयर इन्डियाले सामाजिक सञ्जाल एक्समार्फत एक सूचना जारी गर्दै जम्मू, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटबाट हुने सबै उडानहरू १३ मे, मंगलबारका लागि रद्द गरिएको जनाएको छ। कम्पनीले यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै पछिल्ला घटनाक्रमको समीक्षा गरेर यस्तो निर्णय लिएको स्पष्ट पारेको छ।
यस्तै, इन्डिगो एयरलाइन्सले पनि जम्मू, अमृतसर, चण्डीगढ, लेह, श्रीनगर र राजकोटबाट हुने आफ्ना उडानहरू रद्द गरेको जानकारी दिएको छ। दुवै एयरलाइन्सले यात्रुहरूलाई यात्रा सम्बन्धी थप विवरणका लागि आधिकारिक वेबसाइट वा ग्राहक सेवा केन्द्रमार्फत सम्पर्क गर्न आग्रह गरेका छन्।
भारत–पाकिस्तान तनावको पृष्ठभूमिमा, दुई देशका सैन्य प्रमुखहरू (डीजीएमओ)बीच सोमबार साँझ टेलिफोन संवाद भएको र युद्धविराम कार्यान्वयनका आगामी चरणहरूबारे छलफल भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हालको उडान स्थगनलाई अस्थायी कदमको रूपमा हेरिएको छ, तर परिस्थितिको मूल्यांकन गर्दै थप निर्णय लिइने सम्भावना रहेको विमानसेवा प्रदायकहरूको भनाइ छ।