नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले पार्टीको संगठन सुदृढीकरण र आन्तरिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले क्रियाशील सदस्यता नवीकरणको म्याद आगामी असार मसान्तसम्म कायम गर्ने निर्णय गरेको छ।
बुधबार महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बसेको समितिको बैठकले क्रियाशील सदस्यता नवीकरणको कार्य सम्पूर्ण रूपमा असार मसान्तभित्र सम्पन्न गर्न सबै तहका संरचनालाई निर्देशन दिएको हो।
सदस्यता नवीकरणमा ‘डेडलाइन’, ढिलाइ भए प्रणालीबाट ‘अटोलक’
समितिका सदस्य तथा केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ का अनुसार, निर्धारित समयसीमाभित्र नवीकरण प्रक्रिया पूरा नगर्ने समितिहरूको सदस्यता केन्द्रको प्रणालीमा स्वतः बन्द (अटोलक) हुने व्यवस्था गरिएको छ।
“हामीले अब ढिलो गर्न मिल्दैन भन्ने सन्देश स्पष्ट रूपमा दिएका छौँ,” रसाइलीले भने, “क्रियाशील सदस्यता संगठनको मेरुदण्ड हो, यसमा पारदर्शिता र समयपालन अत्यन्त जरुरी छ।”
उनका अनुसार, हाल ७७ वटै जिल्लामा प्राविधिक सहयोगीहरूको माध्यमबाट सदस्यता नवीकरणको विवरण प्रविष्ट गर्ने काम तीव्र गतिमा अगाडि बढाइएको छ।
साउन १ गतेदेखि नयाँ सदस्यता वितरण सुरु
समितिले क्रियाशील सदस्यता नवीकरणको कार्य पूरा भएसँगै साउन १ गतेदेखि नयाँ सदस्यता वितरण प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको छ। नयाँ सदस्यता वितरणमा दलित, महिला, मधेसी, जनजाति लगायत समावेशी समुदायहरूलाई प्राथमिकता दिइनेछ।
रसाइलीले भने, “स्थानीय, प्रदेश र संघीय निर्वाचनमा सम्बन्धित वडादेखि क्षेत्रसम्म कांग्रेसले पाएको मतको आधारमा नयाँ सदस्यता वितरण गरिनेछ, यसमा समावेशी दृष्टिकोणलाई विशेष प्राथमिकता दिइनेछ।”
१० जिल्लामा विवाद, समाधानका लागि समिति आफैँ मैदानमा
हालसम्म कांग्रेसको १० वटा जिल्लामा क्रियाशील सदस्यता नवीकरणसम्बन्धी विवाद देखिएको छ। समितिले ती स्थानहरूमा समस्या समाधानका लागि प्रत्यक्ष संवाद र सहमति खोज्ने रणनीति अपनाएको छ।
“पहिलो चरणमा हामी सदस्यता व्यवस्थापन समितिका सदस्यहरू नै कार्यक्षेत्रमा पुगेर दुबै पक्षसँग छलफल गर्छौँ,” रसाइलीले बताए, “यदि सहमति भएन भने केन्द्रमा ल्याएर महामन्त्री थापाको रोहबरमा छलफल हुनेछ, त्यहाँ पनि सहमति जुटेन भने पार्टीका शीर्ष नेताहरूसँगको राजनीतिक सहमतिमार्फत टुंग्याउने तयारी गरिएको छ।”
विगतका म्याद र पुनः थप गरिएको समयसीमा
सुरुआतमा क्रियाशील सदस्यता व्यवस्थापन समितिले नवीकरणको कार्य सम्पन्न गर्न गत चैत मसान्तलाई ‘डेडलाइन’ तोकेको थियो। तर, जिल्ला र स्थानीय तहमा देखिएको ढिलाइका कारण वैशाख १५ सम्म म्याद थप गरिएको थियो। सो अवधिमा पनि प्रक्रिया पूर्ण नहुँदा समितिले अब अन्तिमपटक असार मसान्तसम्मको म्याद तोकेको हो।
१५औँ महाधिवेशनलाई विवादमुक्त बनाउन समिति सक्रिय
नेपाली कांग्रेसले आउँदो १५औँ महाधिवेशनलाई सदस्यता विवादमुक्त वातावरणमा सम्पन्न गर्ने लक्ष्य लिएको छ। यही उद्देश्यले महामन्त्री थापाको संयोजकत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन गरिएको हो।
समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्यका रूपमा छन्। समितिले सबै तहका कार्यसमितिलाई निर्धारित समयसीमाभित्र प्रक्रिया पूरा गर्न निर्देशन दिँदै दोस्रो पटक समय थप्न नपर्ने वातावरण बनाउने प्रयास गरिरहेको छ।नेपाली कांग्रेसले संगठनभित्रको अनुशासन, पारदर्शिता र समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गर्दै आगामी महाधिवेशनका लागि सशक्त सदस्यता प्रणाली निर्माण गर्न क्रियाशील सदस्यता व्यवस्थापनको प्रक्रिया तिव्र बनाएको छ। अबको ध्यान नवीकरणलाई समयमै सम्पन्न गर्दै नयाँ सदस्यता वितरणलाई विवादरहित रूपमा अघि बढाउनेतर्फ केन्द्रित छ।