काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संक्रमणकालिन न्यायसम्बन्धी विधेयकमा दलहरू मात्रै मिलेर नपुग्ने बताएका छन् । उनले सो विधेयकमा पीडित पक्ष र अधिकारकर्मीहरुलाई समेत सहमत गराएर मात्रै राजनीतिक दलहरुले टुंगोमा पुयाउन सक्ने बताए । बुधबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले काठमाडौंमा गरेको कार्यक्रममा उनले सो विधेयकलाई निरन्तर छलफल गरेर टुंगोमा पुऱ्याउने काममा दलहरु आफैँ जिम्मेवार नदेखिएको भन्दै असन्तुष्टि पोखे । अध्यक्ष तिमिल्सिनाले सो विधेयक बनाउँदा गम्भीर अपराधमा संलग्नहरुलाई आममाफी दिनु गलत हुने धारणा राखे । ‘हामी दलीय प्रणालीमा छौं । दलबाट सांसदहरु निर्वाचित हुनुभएको छ । दलको निर्देशन, ह्वीप लाग्ने हुन्छ । ह्वीप त त्यसै कडा हुन्छ । अनि जबसम्म नेताहरुको चोचोमोचो मिल्दैन, संसदमा आएर त्यो चिज कसरी पारित हुन्छ ?,’ अध्यक्ष तिमिल्सिनाले भने, ‘अहिले टिआरसीको विषयमा त्यही भइरहेको छ । प्रतिनिधिसभामा त्यसबारे छलफल भएपनि अझै केही विषयहरूमा सहमति भएको अवस्था छैन ।’ उनले सो विधेयकमा बाहिर चर्चा भएजस्तो तीन जना नेताहरूमात्रै मिलेर राम्रो विधेयक बन्न नसक्ने बताए । अध्यक्ष तिमिल्सिनाले दलहरुकै कारण संविधानमा व्यवस्था गरिएको मौलिक हकसँग सम्बन्धित कानुन समेत हालसम्म निर्माण हुन नसकिरहेको टिप्पणी गरे ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरू मात्रै मिलेर पुग्दैन : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना
