तिहारको मुख्य दिन काली पुजा र लक्ष्मीपूजा आज हिन्दू नेपालीहरुले शत्ति स्वरुपा माँ कालीका र धनका देवी माँ लक्ष्मीको पूजा गरेका छन् । हरेक क्षेत्रमा लक्ष्मीपूजा धुमधामले मनाइन्छ ।

अझ त्यसमा पनि गाँऊ घर उद्योगी तथा व्यापारीहरुले यसको विशेष पूजा गर्छन् । लक्ष्मीपूजाअघि हिन्दू नेपालीहरुले आफ्नो घर तथा पसल सरसफाइ गर्छन्, माला र फूलले सजाउँछन् । विभिन्न रंगहरु मिलाएर रंगोली बनाउँछन् ।

रंगोलीदेखि घरको मूलकोठा वा पूजा कोठासम्म बाटो बनाउँछन् ।साँझमा धुमधामले लक्ष्मीको पूजा गर्छन् । मिठाइ र फलफूलको प्रसाद बाँड्छन् । हरेक वर्ष तिहारमा कुकुर तिहारको साँझमा वा गाईतिहारको साँझमा माँ लक्ष्मी र माँ कालीकाको पूजा गरिन्छ ।यसवर्ष भने कुकुर तिहारको दिनको साँझमा लक्ष्मीपूजा परेको छ । लक्ष्मीपूजाको दिन घर उज्यालो पार्ने चलन छ । हुनत हिजोआज तिहार अवधिभर नै झिलिमिली बत्तीले घर सजाउने चलन चलिसकेको छ ।