महानगरपालिकाले प्लास्टिकमा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण निषेध गरेको छ ।
काठमाडौं महानगरपालिका, स्वास्थ्य विभागले मंगलबार सार्वजनिक आह्वान जारी गर्दै अबको १५ दिनपछि लागु हुने गरी आफ्नो क्षेत्रभित्र प्लास्टिकमा प्याकेजिङ गरिएका खैनी, गुट्खा, पान–पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरण पूर्ण रुपमा निषेध गरिएको जानकारी गराएको छ ।

हुक्का निषेध गर्ने तयारी
महानगरले पहिलो चरणमा प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थ र गुट्खाको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेको छ । दोस्रो चरणमा महानगर भित्र हुक्का निषेध गरिने उनले जानकारी दिए ।
महानगरभित्र सञ्चालनमा रहेका सबै रेष्टुरेन्ट, बारमा हुक्का प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने तयारी महानगरले गरेको उनले बताए । युवाको स्वास्थ्यलाई लक्षित गरी यस्तो योजना बनाइएको उनको भनाइ छ ।
संघीय सरकारले देशैभर गर्दैछ निषेध
सुर्तीजन्य वस्तु (सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु) प्लास्टिकको खोलमा प्याकिङ गर्न नपाइने नियम महानगरले आफ्नो क्षेत्रभित्र कार्यान्वयनमा ल्याउँदै गर्दा यो योजना संघीय सरकारले भने देशैभर लागु गर्दै छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा १ वैशाख २०८१ देखि लागु हुने गरी प्लास्टिकको खोलमा यस्ता पदार्थको बिक्री वितरणमा पूर्ण रोक लगाउने घोषणा गरिएको छ ।
सोही घोषणालाई कार्यान्वयन गर्न आन्तरिक राजस्व विभागले उत्पादक कम्पनीहरुलाई सूचित समेत गरिसकेको छ । विभागका अनुसार १ वैशाख २०८१ सम्म यस्तो वस्तु उत्पादन गर्ने प्रतिष्ठानले प्लास्टिक विस्थापित गरिसक्नुपर्ने छ । सरकारले अन्तःशुल्क नियमावलीमा संशोधन गर्दै भनेको छ, ‘सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने प्रतिष्ठानले १ वैशाख २०८१ देखि प्लास्टिक बाहेकका जैविक रुपमा सडेर जाने (बायोडिग्रेडेबल) सामग्रीमा मात्र प्याकिङ गर्नुपर्नेछ ।’
आयातकर्ताले समेत प्लास्टिकका खोलमा बेच्न नपाउने
सरकारको नियमअनुसार अब आयातकर्ताले समेत नेपाल भित्र प्लास्टिकका खोलमा यस्ता वस्तु बिक्री गर्न पाउने छैनन् । उनीहरुको हकमा पैठारी गर्न इजाजत पाएका प्रतिष्ठानले त्यस्ता वस्तुको प्याकिङ सड्ने वस्तुमै गर्नुपर्ने गरी नियम बनाइएको छ । अहिले खासगरी भारतबाट अन्धाधुन्ध यस्ता वस्तु नेपाल आयात भइरहेका छन् ।
आन्तरिक राजस्व विभागले तोकिएको अवधिभित्रै सो प्रावधान लागु गर्ने गरी तयारीमा जुट्न सुर्ती उत्पादकहरुलाई सचेत गराइसकेको छ । विभागले १ वैशाख २०८१ देखि यो प्रावधान कार्यान्वयन नगरे कानुन अनुसार कारावाही गर्ने भएको छ ।
सार्वजनिक स्थलमा सेवन गर्न नपाउने नियम अलपत्र
सरकारले सुर्तीजन्य पदार्थलाई सार्वजनिक स्थलमा सेवन गर्न रोक लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७६ फागुनमा एक सूचना जारी गरी सार्वजनिक स्थलमा सुर्तीजन्य वस्तु सेवनमा रोक लगाएको थियो ।
जसमा सरकारी कार्यालय, शिक्षण संस्था, विमानस्थल तथा सार्वजनिक सवारी, सार्वजनिक शौचालय, उद्योग, कलकारखाना, होटल, रिसोर्ट, सार्वजनिक प्रतीक्षालय तथा रंगशालासहितका धेरै व्यक्तिको भेला हुने स्थानमा यस्ता वस्तुको सेवनमा रोक लगाएको हो । यसलाई काठमाडौं महानगरपालिकाले गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरेको भए पनि यसको सार्वजनिक स्थलमा हुने खुलेआम सेवन अझै रोकिएको छैन ।