करिब एक लाखभन्दा बढी नक्कली लाइसेन्स बाँडिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अख्तियारबाट खटिएको टोलीले बुधबार यातायात व्यवस्था विभागमा पुगेर अनुसन्धान सुरु गरेको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशन उद्धवप्रसाद रिजालले अख्तियारको टोली अध्ययनको सिलसिलामा विभागमा आएको बताए । ‘हामीले दिएको रिपोर्टमाथि थप छलफल गर्न अनि लाइसेन्स दिने प्रक्रियाबारे बुझ्न टोली आएको हो’, उनले भने, ‘फिल्डका अफिसमा काम हुने र हामीसँग डाटाबेस मात्रै रहने भएकाले कागजात लैजाने कुरा भएन । तर थप अध्ययनका लागि उहाँहरु फेरि आउने कुरा गर्नुभएको छ ।’अख्तियारका एक सहसचिवले पनि अनुसन्धान सुरु भएको पुष्टि गरे । उनका अनुसार, मन्त्रालयलाई छानबिन गर्नु भनी पत्र लेखेदेखि नै अनुसन्धान सुरु भएको हो । उनले भने, ‘पछिल्लो समय सबैतिर यसवारे समाचार आउन थालेपछि प्रमाण नष्ट नहोस् भन्नेमा हाम्रो चासो रहेको हो ।’ अख्तियारका प्रवक्ता नरहरि घिमिरेले आफू बिदामा भएकाले यसवारे जानकारी नभएको प्रतिक्रिया दिए ।अख्तियारको टोलीले लाइसेन्स वितरण प्रक्रियाको सफट्वेयर र त्यसको डाटाबेसको वारेमा विस्तृत विवरण बुझेको हो । सफ्वेयरमा पहुच हुनेहरुको पहिचान, उनीहरुको भूमिका र उनीहरुमाथि निगमन गर्नेको कामकारवाहीवारे टोलीले जानकारी लिएको हो ।उहाँहरुले केही कागजात कपी गरेर लिनुभयो, सबैतिर कार्यालय चलेकाले भएजतिको डाटाबेस लिएर जाने सम्भावना थिएन’, यातायात व्यवस्था विभागका एक कर्मचारीले भने, ‘आउने शुक्रबार र शनिवार दुई दिन सार्वजनिक विदा भएकाले त्यसदिन सघन अध्ययन गर्ने र आवश्यक परे अनुसन्धानका क्रममा डाटाबेस नै लैजाने कुरा भएको छ ।’यातायात व्यवस्था विभागले लाइसेन्स वितरणमामा भएको अनियमितताबारे गरेको अध्ययन प्रतिवेदन मन्त्रालयमा पठाइसकेको छ । त्यो प्रतिवेदन पाएको अख्तियारले थप अध्ययन गर्न मन्त्रालयलाई समेत निर्देशन दिइसकेको छ । मन्त्रालयको टोलीले पनि अन्तिम प्रतिवेदनको तयारी गरेको छ ।