दुई दिने नेपाल भ्रमण सकेर कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फिर्ता भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा मंगलबार नेपाल भ्रमणमा आएका थानीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थल पुगेर विदाई गरेका हुन् ।

राष्ट्रपती रामचन्द्र पौडेल र कतारका अमिरको उपस्थितिमा सरकारीस्तरको समझदारी पत्रमा नेपालमा कानुन मन्त्री पदम गिरी र त्यहाँका समकक्षीले हस्ताक्षर गरे । त्यस्तै संस्कृति, शिक्षा, युवा र खेलकुद, कूटनीतिक तालिम र कानुनी निकायहरूबिच सहकार्यसम्बन्धी पनि सम्झौता भएका छन् । गैसरकारी स्तरमा भएको सम्झौतामा नेपालमा संयुक्त व्यापार परिषद् स्थापना गर्ने उल्लेख छ ।

नेपाल-कतारबिच भएको समझौताहरु १. नेपालको संस्कृति, पर्यटन तथा नागरिकह उड्डयन मन्त्रालय र कतार राज्यको संस्कृति मन्त्रालयबिच संस्कृति र कलाको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र
२. राष्ट्रिय समाचार समिति, नेपाल (रासस) र कतार समाचार एजेन्सी (क्यूएनए) बीच समाचार आदानप्रदान तथा सहयोगसम्बन्धी सम्झौता
३. नेपाल सरकार र कतार राज्यको सरकारबिच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी पत्र (एमओयू)
४. नेपाल सरकार र कतार राज्यको सरकारबिच युवा तथा खेलकुदको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र
५. नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजनबिच सहयोगका लागि समझदारी पत्र
६. नेपाल सरकारको परराष्ट्र मामिला अध्ययन संस्थान (आईएफए) र कतार राज्यको परराष्ट्र मन्त्रालयको कूटनीतिक संस्थानबिच कूटनीतिक प्रशिक्षण र शिक्षाको क्षेत्रमा सहयोगसम्बन्धी समझदारी पत्र
७. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासङ्घबिच संयुक्त व्यापार परिषद् (जेबिसी) स्थापना गर्ने सम्बन्धी सम्झौता
८. कतार चेम्बर र नेपाल उद्योग वाणिज्य महासङ्घबिच भएको समझदारी पत्रको नवीकरण