कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ।
काठमाडौं, कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त म्याग्दी साविक कुहु गाविस-५ घर भएका ४७ वर्षीय समर बहादुर सार्कीलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं तौथलीस्थित कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी स्थायी वतन भएकी २३ वर्षीया सुनमाया किसान (सार्की) को २०७१ कात्तिक १ गते हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चान्लाखेलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।
पेस्तोल तथा लागूऔषधसहित एक जना पक्राउ।
पर्सा, वीरगंज महानगरपालिका-१६ भुटानदेवीबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, त्यसको गोली २ राउण्ड, अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४९ ग्राम र गाँजा ८ सय ८० ग्रामसहित भारत विहार पूर्वी चम्पारण रक्सौल बस्ने ४५ वर्षीय बब्लु पासवान भन्ने गणेश कुमारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट वीरगंज बजारतर्फ आउँदै गरेको बिआर ०५ एएल ६१३९ नम्बरको मोटरसाइकललाई रोक्न खोज्दा उक्त स्थानमा नरोकी भाग्न खोजेकोले नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली फायर गर्दा चालक पासवान घाइते भएका थिए । उनलाई तत्काल उपचारको लागि नारायणी अस्पताल वीरगंज लगिएकोमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।
प्रारम्भिक अनुसन्धानको क्रममा गणेश कुमारले २०७३ जेठ १३ गते बारा महागढीमाई नगरपालिका-१ पसाहा पुल नजिक वीरगंज बस्ने सुरेश केडियाको अपहरण गर्ने मुख्य योजनाकार रहेको, २०७९ असोज ३ गते काठमाडौं गोठाटारस्थित लाल मोहमदको हत्यामा सलंग्न रहेको, भारतमा रही पर्सा लगायत तराईका जिल्लाहरूमा अपहरण गर्न लगाउने, साना हतियार तथा लागूऔषधको कारोवार गर्ने गरेको, नेपाली अपराधीहरूलाई भारतमा संरक्षण गर्ने गरेको, उद्योग व्यसायीहरूलाई फोन गरी रकम माग गर्ने तथा ज्यान मार्ने धम्की दिने गरेको समेत खुल्न आएको छ ।
यस सम्बन्धामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ।
काठमाडौं, ठगी मुद्दाका फरार प्रतिवादी धादिङ निलकण्ठ नगरपालिका-७ ठेगाना भई काठमाडौं कलंकी बस्ने ४७ वर्षीय भिमसेन कुमार श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठ समेत भएको एक करोड १० लाख रूपैयाँ ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भई फरार रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर नख्खिपोटबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।
हत्या गरेको अभियोगमा पक्राउ।
काठमाडौं, स्याङजा, वालिङ नगरपालिका-१३ बायाँटारी डेरा गरी बस्ने दाङ घर भएका २० वर्षीय आयुस चौधरीको हत्या गरेको अभियोगमा दाङ राप्ती गाउँपालिका-३ घर भइ वालिङ नगरपालिका-१३ बायाँटारी बस्ने ३५ वर्षीय निम बहादुर घर्तीमगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । मगरले धारिलो हतियार चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका चौधरीको प्राथामिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी थुमपोखरा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ईलाम, आफ्नै सौतेनी आमा ३१ वर्षीया नेत्र माया खवासको हत्या गरेको अभियोगमा माई नगरपालिका-२ दिपु डाँडा बस्ने २१ वर्षीय सन्देश दियालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । सन्देशले मादक पदार्थ सेवन गरेर घरायसी विवादमा बाम्पफोक प्रहार गर्दा नेत्र मायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हवाई टिकट मिलाई दिन्छु भनि ठगी गर्ने महिला पक्राउ ।
काठमाडौं, सामाजिक सञ्जाल फेसबुक मार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा तारकेश्वर नगरपालिका-५ बस्ने २९ वर्षीया सुनिता लामिछानेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त ठगी गर्ने कार्यमा संलग्न व्यक्तिको खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका-२८ बागबजारस्थित ज्वाइन्ट भिजन ट्राभल एण्ड टुर्स प्रालि सञ्चालन गरी बस्ने सुनितालाई गोकर्णेश्वर नमुना बस्तिबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा सुनिताले नक्कली हवाई टिकट बनाउने गरेको, बैंकिङ कसूर सम्बन्धी मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंमा ३ जनाको निवेदन रहेको तथा हालसम्म ८ जनाले ठगी सम्बन्धी कसुरमा जाहेरी दिएको समेत खुल्न आएको छ ।
उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । नेपाल प्रहरीबाट