नक्कली नेपाली रूपैयाँ १३ लाख १६ हजारसहित चार जना पक्राउ
बारा, नक्कली नेपाली रूपैयाँ १३ लाख १६ हजारसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका-६ बस्ने २५ वर्षीय राजन चौधरी, सोही नगरपालिका-५ बस्ने १९ वर्षीय आकाश चौधरी, रौतहट राजपुर नगरपालिका-१ बस्ने १९ वर्षीय मोहन कुमार साह र भारत विहार मोतिहारी थाना झरौखर पञ्चायत कबैया ग्राम खरसलवा-७ बस्ने ४० वर्षीय महमद आलम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले मोहन कुमार साहलाई सिम्रौनगढ नगरपालिका-९ सानो बसवरीयाबाट वीआर ०६ एडब्लु २७५८ नम्बरको मोटरसाइकलसहित १ हजार दरको ७ सय ७ थान र सिम्रौनगढ नगरपालिका-९ ठूलो बसवरीयाबाट साइकलमा आउँदै गरेका महमद आलमलाई १ हजार दरको ६ सय ९ थानसहित पक्राउ गरेको हो । साथै राजन र आकाशलाई उक्त कार्यमा संलग्न रहेको खुल्न आएपश्चात उनीहरूलाई समेत पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
मोरङ, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ लालभित्ती रमिते टोल बस्ने १९ वर्षीय आकास तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आकासले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
चितवन, ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखा सिरानचोक गाउँपालिका-३ बस्ने २१ वर्षीय बिबश सापकोटालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-१ स्थित स्वस्तिका होटल एण्ड लजमा बसेकी ती महिलालाई बिबशले कोठामा प्रवेश गरी जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको ८ हजार यूरोसहित एक जना पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियाबाट लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा ८ हजार यूरोसहित वंगलादेशी नागरिक २३ वर्षीय SYED SHORIFUL HASAN लाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
बिमान बंगलादेश एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट ढाका जान लागेका उनको व्यागलाई स्क्रिनिङ गर्ने क्रममा व्यागभित्र रहेको १ सय दरको ३० थान र ५० दरको १ सय थान यूरो फेला पारी उनलाई प्रकाउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि बुधबार राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ ।
हत्या गरेको अभियोगमा पक्राउ
बझाङ, आफ्नै ठुलीआमा ७० वर्षीया कलुली देवी पातलीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बुङगल नगरपालिका-११ तल्लो मौरेबांज बस्ने ३६ वर्षीय हरजित बहादुर पातलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनले मादक पदार्थ सेवन गरी कलुली देवीलाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पुतलीलेक र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले हरजितलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । स्रोत नेपाल प्रहरीबाट