जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको नियमित बुलेटिनमा सबै प्रदेशका एक–दुई स्थानमा आगामी तीन दिनसम्मै वर्षाको सम्भावना औंल्याइएको छ ।महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन भनेको छ ।


ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
आगामी विहीबार पनि कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । शुक्रबार सुदूरपश्चिम प्रदेशमा समेत भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।विगतका तुलनामा मनसुन थप सक्रिय भएको मौसमविदले बताएका छन् । मनसुनी रेखा नेपालको पूर्वी भागतिर थोरै माथि र पश्चिमतिर थोरै तल देखिएको छ ।

त्यसैले नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएको छ ।कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत भएको छ ।आजको भारी वर्षाले मोरङको विराटनगर महानगरपालिकाका विभिन्न वडाका बस्ती डुबानमा परेका छन् । पोखरा,हेटैडा
एक घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा भने चितवनको गोविन्द बस्ती स्टेसनमा रेकर्ड भएको छ । त्यहाँ ३३.८ मिलिमिटर वर्षा मापन भएको छ । चितवनकै कल्याणपुरमा २३.२ मिलिमिटर वर्षा भएको छ ।
गोविन्दबस्तीपछि सबैभन्दा धेरै वर्षा यस्तै नवलपरासीको डण्डामा भएको छ । त्यहाँ एक घण्टाकै अवधिमा २७.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
महोत्तरीको गौशालामा २१.२, पोखराको लामपाटनमा १८.८, कञ्चनपुरको शान्तिपुरमा ११.६ र सोलुखुम्बुको पेकरनास स्टेसनमा ११.४ मिलिमिटर वर्षा एक घण्टाको अवधिमा भएको छ ।त्यसै गरी जनकपुर ,सर्लाही,रौतहट,बारा,पर्सा ,सिरहा,सप्तरी लगायत हरेक स्थानहरुमा वर्षाले जलमग्न भएको ले जनजिवन कष्टकर भएको छ ।
सप्तरीको रुपनी गाउँपालिकामा खाँडो नदीको बाढी पसेको छ । नदीमा बाढी आउँदा होचो तटबन्ध पार गरेर बाढी बस्तीमा पसेको हो ।
बाढीले रुपनी १ का ३० घर डुबानमा परेको जानकारी प्रहरीले गराएको छ ।सप्तरी जिल्लाको खाँडो नदीको रुपनी गापास्थित जलमापन केन्द्रमा जलसतह सतर्कता तह बिहान ५:१८ देखि पार गरिरहेको छ ।
मुसलधार वर्षाले सदरमुकाम राजविराजका चार दर्जन बढी घर डुबान भएको स्थानीयले जानकारी दिएका छन् ।