राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीभित्र अरूलाई गाली र आरोप-प्रत्यारोप गर्ने मात्रै प्रवृत्ति देखिएको बताउँदै आफ्नो ‘भिजन’ र ‘प्लान’ केही देखाउन नसकिएको स्वीकारेका छन् ।
निलम्बित महामन्त्री ढकालले पार्टीले सस्तो लोकप्रियतालाई प्राथमिकता दिइएको, फोटो खिचेर ठूलो मान्छे भइन्छ भन्ने प्रवृत्ति देखिएको पनि टिप्पणी प्रतिवेदनमा गरेको पाइएको छ ।
‘सस्तो लोकप्रियतालाई प्राथमिकता दिइयो । पार्टीभित्र निषेधको राजनीति मौलाएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘फोटो खिचेर ठूलो मान्छे भइन्छ भन्ने प्रवृत्ति देखियो ।’
सुरूवाती यात्रामा राजनीति गर्न काम नछोडौं भनिए पनि पछिल्लो समय राजनीति गर्न काम छोड्नु पर्ने बाध्यता भइसकेको ढकालको भनाइ छ ।
‘प्रतिस्पर्धी भावना र खुट्टा तानातान प्रवृत्ति देखियो । पार्टीभन्दा व्यक्तिलाई बलियो बनाउने गरी दौडधुप भयो,’ प्रतिवेदनमा लेखिएको छ ।
बुधबार राति मात्रै बहुमतको निर्णयबाट निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले तयार गरेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ ।
स्थापनाको छोटो समयमै संघीय संसद्का २१ सिट जित्न सफल रास्वपा संकटतिर धकेलिएको प्रतिवेदन महामन्त्री ढकालले ल्याएपछि अहिले उनलाई त्यसैले संकटमा पारेको छ । उनले ‘समीक्षा यात्रा-फोक्सुन्डो शीर्षकमा तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो ।रास्वपाका संस्थापकमध्ये एक उनले उक्त प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् । ढकालले उक्त प्रतिवेदनमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको उल्लेख गरेका थिए । प्रतिवेदन को पुर्ण पाठ