नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् ।
सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।
तीन यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए । दुइटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन ।
सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोतखोर टोली र नेपाल प्रहरीले बस खसेको केही बेरमै खोजी सुरु गरे पनि बसको अवस्था पत्ता लाग्न सकेको छैन ।त्रिशूली नदीमा बाढीको चाप बढ्दै गएको, पानी धमिलो भएको, बस खसेको ठाउँ एकदमै अफ्ठ्यारो भएकाले खोज्न समस्या भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।