सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको सार्वजनिक ऋण दायित्व २४ खर्ब ३३ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।सो ऋणलाई प्रतिव्यक्ति भाग लगाउँदा एक नेपाली जनताको भागमा ८३ हजार ४३१ रुपैयाँ सार्वजनिक ऋण पुगेको छ ।आर्थिक वर्ष २०७९/८० सम्म प्रतिव्यक्ति ऋण दायित्व ७८ हजार ८४० रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा प्रतिव्यक्ति ऋण भार नै ४ हजार ५९१ रुपैयाँले बढ्न पुगेको छ । यस्तो ऋण दायित्व जनताले प्रत्यक्ष तिर्नु नपरे पनि जनताबाट उठाएको करबाटै भुक्तानी गरिने भएका कारण प्रतिव्यक्ति ऋण दायित्वलाई महत्त्वका साथ हेर्ने गरिन्छ । पछिल्लो एक वर्षमा सरकारले कुल ३ खर्ब ५८ अर्ब रुपैयाँ ऋण लिएको छ ।सार्वजनिक ऋणको सावाँ भुक्तानी २ खर्ब ४३ अर्ब रुपैयाँ बराबर भएको छ । यस प्रकार एक वर्षको अवधिमा १ खर्ब २३ अर्ब ६० करोड रुपैयाँ बराबर सार्वजनिक ऋण थप भएको छ ।
कुल गार्हस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण
- आन्तरिक ऋण : २०.७० प्रतिशत
- वाह्य ऋण : २१.९५ प्रतिशत
- कुल : ४२.६५ प्रतिशत